Logo

कांग्रेसमा किचलो: आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय शेखर पक्षले नमान्ने



काठमाडौं,२५ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसभित्र किचलो सुरू भएको छ । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । आङ्बो माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता हुन् ।

माओवादीललाई मुख्यमन्त्री दिने गठबन्धनको निर्णय नेपाली कांग्रेसको शेखर कोइराला पक्षले नमान्ने भएको छ । कोइराला पक्षले कांग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै आएको छ । उनलाई शेखर कोइरालाले साथ दिएका छन् ।

सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री दिने निर्णयमा शेखर कोइराला समूहका ९ जना सांसदहरू असन्तुष्ट देखिएका हुन्।

स्रोतका अनुसार कोशी प्रदेशमा केदार कार्की,शमशेर राई, गोविन्द गिरी,लीला राई,रामकुमार खत्री,गयानन्द मण्डल,इन्दिरा थापा,मानबहादुर लिम्बू र सुनिता गुरुङले गठबन्धनको निर्णयको विपक्षमा उभिने तयारी गरेका हुन्। उनीहरु सबै शेखर कोइराला पक्षमा सांसद हुन्।

केदार पक्षका एक सांसदले आजै नेकपा एमालेसँग छलफल गरेर आफ्नो रणनीति तय गर्ने जनाएका छन् । उनले ८ सांसद्को समर्थन पाएमा आफ्नो पक्षलाई मुख्यमन्त्री दिन एमाले तयार रहेको समेत दाबी गरेका छन् । कोशीका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले भोलि साँझ ५ बजेसम्म ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न समय दिएका छन् । कोशीमा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका एक सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot