Logo

कोशीको मुख्यमन्त्रीमा केदार कार्कीको दाबी पेश



काठमाडौं,२५ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन् ।

कोशी प्रदेश एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखको कार्यालय गएर दावी पेस गरेको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । यसअघि कांग्रेसको सो समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्र आङ्बालाई मुखयमन्त्री दिने सहमति गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको दाबी गर्न लागेको हो ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेको बताइएको छ ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको छ । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot