Logo

हिमालले पनि दिए मुख्यमन्त्रीमा केदारलाई साथ, शेखरको पक्षमा ९ सांसद



काठमाडौं,२५ असोज । सत्ता गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई अर्का सांसद हिमाल कार्कीले पनि साथ दिएका छन् ।

आजमात्रै प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा दिएका कार्कीले राजीनामा लगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफ्नो हस्ताक्षर गरेका छन् । यसअघिनै मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीसहितका ८ सांसदले सशरीर उपस्थित भएर आफ्नो हस्ताक्षर सनाखत गरेका थिए । केदारलाई उपनेताबाट राजीनामा दिएका हिमालसँगै उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङले समर्थन गरेका छन् । भने नेकपा एमालेका ३९ जना नै सांसदले समर्थन गरेका छन् ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको शेखर पक्षले विरोध जनाउँदै आएको थियो। विरोधको सुनुवाई नभएपछि शेखरले विद्रोह गर्दै आफ्नै उम्मेदवार उठाएका हुन् । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot