Logo

कोसी प्रदेशमा मध्यावधि रोक्न केदार कार्कीलाई साथ दियौं : एमाले नेता



काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले मध्यावधि निर्वाचन रोक्न कोसी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीले सांसद केदारबहादुर कार्कीलाई साथ दिएको बताएका छन् ।
‘सत्ता गठबन्धनले कोसी प्रदेशको राजनीतिलाई बिगार्ने र गिजोल्ने अनेक प्रयत्न गर् यो । अहिले मध्यावधि निर्वाचनमा जाने आर्थिक अवस्था छैन । राजनीतिक दलहरुप्रति जनतामा चरम वितृष्णा छ । समाजमा सद्भाव बिथाल्ने काममा सरकार नै लागेको छ । संविधानका सबै प्रयोग असफल सिद्ध भएको स्थितिमा स्वतन्त्र रुपमा सांसदले बहुमत सिद्ध गरेर सरकार बनाउन सक्ने संवैधानिक व्यवस्था अनुसार हामीले केदार कार्कीलाई समर्थन दिएका हौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
कांग्रेस पार्टीको विद्रोहलाई किन उक्साहट गर्नुभयो भन्ने प्रश्नमा गैरेले भने, ‘कोसी प्रदेशको सरकार निर्माण दलीय व्यवस्थाभन्दा माथि उठिसकेको छ । हामी संविधानको धारा १६८ को २, ३ र ४ पार गरेर अघि गइसक्यौं । प्रदेश सभाका हरेक सांसदलाई आफ्नो सरकार कस्तो बनाउने भन्ने स्वतन्त्रता छ । यो स्थितिमा सत्ता गठबन्धनले नै पुर् याएको हो । अस्ति हिम्मत कार्कीलाई माओवादीले समर्थन गरेको भए के हुन्थ्यो ? सभामुखले गठबन्धनलाई भोट नहालेको भए के हुन्थ्यो ?’
अहिलेको स्थितिमा गठबन्धनले सरकार बनाए पनि बहुमत पुर् याउन नसक्ने भएकाले स्वतन्त्र हैसियतमा कार्कीलाई समर्थन गर्नु बाध्यता भएको पनि गैरेले औंल्याए । उनले भने, ‘गठबन्धनको पनि ४७ सिट हो, विपक्षमा पनि ४७ सिट हो अनि सरकार बन्छ कसरी ? बहुमतको सरकार बनाउने सुनिश्चितताका लागि यो नै उपयुक्त विकल्प देखियो । यसमा कुनै कानुनी जटिलता छैन । यसलाई सहज रुपमा लिएर अघि बढ्नुपर्छ ।’
एमाले कांग्रेस विभाजन गर्न वा गठबन्धन टुटफुट गराउन नलागेको पनि उनले बताए । गैरेले भने, ‘केदार कार्कीको पक्षमा ९ जना सांसद छन् । एमालेका ४० सांसदले उहाँलाई समर्थन गर्छन् । कहिले सभामुखले भोट हाल्ने, कहिले राजीनामा दिने कुराले शासन प्रमाणी सञ्चालकको योग्यतामाथि प्रश्न उठेका थिए । कांग्रेस फुट्छ भन्ने चिन्ता हो भने सभापतिले पनि कार्कीलाई समर्थन गरे भइहाल्यो । गठबन्धन टुट्छ भन्ने लागेको हो भने माओवादीले पनि समर्थन दिए भइहाल्यो ।’
केदार कार्की नेतृत्व गर्ने सरकारमा जाने कि नजाने भन्ने अहिले कुनै छलफल नभएको पनि गैरेले बताए । तर सानो मन्त्रिपरिषद् बनाउने र अनुशासनमा बसेर काम गर्नुपर्ने एमालेको सर्त छ । साथै उनले एमालेले सरकार ढाल्ने अभियान चलाउनै नपर्ने दाबी गरे । उनले भने, ‘यो सरकार आफैं ढल्छ । जनताको नजरमा यो असफल सरकार हो । महँगी, भ्रष्टाचार चरमचुलीमा पुगेको छ । योभन्दा ठूलो अस्तव्यस्ता कहीं हुन्छ ? यसलाई त सरकार भन्नै लाज मान्नुपर्ने स्थिति छ । यो आफैं समाप्त हुन्छ । औपचारिक र कानुनी भाषामा कहिले ढल्छ भन्ने पर्खाइ मात्र हो ।’ सत्ता गठबन्धनले संसदको भूमिकालाई कमजोर बनाएको आरोप पनि सांसद गैरेले लगाए ।



प्रतिक्रिया दिनुहोस्