काठमाडौं,२६ असोज । प्रतिनिध सभाको बैठक जारी छ । दिउँसो २ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको जारी बैठकमा वर्तमान सरकार असफल भएको भन्दै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवाज उठेको छ ।
शुक्रबारको संसद् बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका हुन् ।
सुकुम्बासीको समस्या समाधान नगर्ने, विकास को काम नगर्ने, महंगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खाली सत्ताको लुछाचुँडीमा रहने हो भने यही गति र यही मतिमा चल्ने हो भने यस (सरकार) ले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताका अगाडि धेरै विकल्प छैन । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरौं समयमै ।’ सांसद गौतमले भने
कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएका उल्लेख गर्दै उनले संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको बताए । ‘कांग्रेस सबैभन्दा ठूलो दल हो । सबै मिलेर एकपल्ट राष्ट्रिय सरकार बनाऔं । होइन भने क्रान्ति र परिवर्तन सबै सिद्धिएर जान्छन् । त्यसले कहाँ पु¥याउँछ थाहा छैन’ उनले भने ।
पछिल्लो समय नेपाली कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकार फेर्ने बहस सुरु भएको छ । खासगरी डा शेखर कोइराला पक्षका सांसदहरु कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । यद्यपि पार्टीको संस्थाप पक्ष भने अहिले हतार नगर्ने मुडमा देखिएको छ ।
वर्तमान सरकारका विकल्प खोज्नुपर्ने आवाज उठाउने कोइराला पक्षले सत्ता गठबन्धनको निर्णयमाथि चुनौती दिँदै कोशी प्रदेशको मुख्यमन्त्रीमा आफू निकटका केदार कार्कीलाई अघिसारेका छन् । बिहीबार बसेको गठबन्धनको बैठकले मुख्यमन्त्री माओवादीलाई दिने निर्णयविरुद्ध उभिँदै कोइरालाले कार्कीलाई अघि सारेपछि कांग्रेसभित्रको भाँडभैलो सतहमै आएको छ ।
२४ घण्टामा विकसीत पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न अहिले कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सुरु भएको हो ।