काठमाडौं,२६ असोज । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्म स्थगित भएको हो ।
शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । सरकारले संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य गर्ने तयारी गरेको थियो । तर राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस नेपाल भ्रमणमा आउने भएपछि अधिवेशन लम्बिएको हो ।
महासचिव गुटरेस कार्तिक १२ मा नेपाल आउने बताईएको छ । उनले संघीय संसद्मा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।
तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम