Logo

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न आनाकानी गरेपछि ४८ सांसद लिएर प्रदेश प्रमुखको कार्यालयमा एमाले-कांग्रेसको विद्रोही टिम



काठमाडौं,२६ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै कांग्रेसका ९ र नेकपा एमालेका ३९ गरी ४८ सांसद स-शरीर प्रदेश प्रमुखकोमा जाने भएका छन् ।

कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा स-शरीर उपस्थित हुने भएका छन् ।

बिहीबार नै नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुने भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेपछि नियुत्तीको प्रक्रिया सुरु गर्ने भनेकाले दबाब दिन सशरीर नै उपस्थित हुन लागेको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

‘केदार कार्कीज्यूहरु प्रदेश प्रमुखको कार्यलयमै हुनुहुन्छ । हामी एमालेका ३९ सांसदहरु नै स्वयं अब प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा छौं संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्नेछौं’। एमाले प्रमुख सचेतक भण्डारी भने ।

बिहीबार साँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

दाबी पेश गरे पनि अहिलेसम्म मुख्यमन्त्रीमा नियुक्त नगरेपछि सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा स शरीर उपस्थित हुने तयारी गरेका हुन् ।

असोज २० गते प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीकोलागि आधार सहित दाबी प्रस्तुत गर्न २६ गते साँझ ५ बजेसम्मको समय दिएका थिए ।

कोशी प्रदेशको मुख्यमन्त्रीकोलागि संविधानको धारा १६८ को ५ अनुसार गठबन्धनको तर्फबाट इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले सत्ता गठबन्धनको निर्णय भन्दै काङ्ग्रेसका ९ जना सदस्यको पुरानो हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुखले आवश्यक कानुनी परामर्श गर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot