Logo

कोशीको मुख्यमन्त्री नियुक्ति भोलिमात्रै हुने



काठमाडौं,२६ असोज । कोशी प्रदेशको मुख्मयन्त्री नियुक्ति भोलि मात्रै हुने भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले दुर्व पक्षका सांसदहरूको सनाखत गराएर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका हुन्।

प्रदेश प्रमुखले शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि संविधानको धारा १७८ को उपधारा ५ बमोजिम बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार दाबी गर्न आह्वान गरेका थिए।

प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित हुन आग्रह गरेका हुन्।

सो समयसीमामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्।

केन्द्रबाटै गठबन्धनका नेताहरुले शनिबार बिहानसम्म सहमतिको प्रयास भइरहेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई आजको रात टार्न दबाब दिइएको स्रोतले जनाएको छ । त्यसपछि उनले गठबन्धनलाई पर्याप्त समय पुग्नेगरी दिउँसो २ बजेसम्मको समय दिएर सूचना टाँसेका हुन् ।

एमाले नेता हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्रीबाट राजीनामा गरेपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीको दावी पेश गर्न समय दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्