Logo

कोसी प्रदेशका कारण गठबन्धन भत्किँदैन : माओवादी नेता



काठमाडौं, २७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले नेपाली कांग्रेसभित्र अनुशासनको गम्भीर समस्या उत्पन्न भएको बताएका छन् ।
‘कोसी प्रदेशको मुख्यमन्त्रीको प्रश्न गणितीय विषय मात्र होइन, राजनीतिक विषय पनि हो । केदार कार्की स्वतन्त्र सांसद होइन । पार्टीको टिकट लिएर उठेपछि पार्टीप्रति उत्तरदायी हुनैपर्छ । पार्टी र गठबन्धनको निर्णयलाई चुनौती दिन मिल्छ ? पार्टीको अनुशासन मान्दिनँ भन्न मिल्छ ? संसदीय दलको ह्वीप नमान्ने पनि पार्टीको सांसद हुन्छ ? नेपाली कांग्रेस पार्टी एउटै हो भने भने निर्णय एउटै हुनुपर् यो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
कांग्रेस नेता शेखर कोइरालाको गतिविधिलाई कांग्रेसले गम्भीर रुपमा लिनुपर्ने प्रधानले औंल्याए । उनले भने, ‘संसदीय दलको नेता नै मुख्यमन्त्री हुन्छ । दलमा ह्वीप लाग्छ भन्ने माननीय शेखर कोइरालालाई थाहा छ । दल भनेको के हो भन्ने पनि उहाँले राम्रोसँग बुझ्नुभएको छ । उहाँले जुन काम गर्नुभएको छ, त्यसलाई नेपाली कांग्रेसले गम्भीर रुपमा सोच्नुपर्ने हो ।’
नेकपा (माओवादी केन्द्र) गठबन्धन भत्काउने पक्षमा नभएको पनि प्रधानले बताए । उनले थपे, ‘माओवादीले गठबन्धनकै हितमा काम गरिरहेको छ । उद्धव थापा कांग्रेसको नेता होइन ? उहाँका निम्ति माओवादीले सभामुखलाई राजीनामा समेत गरायो । संघीय लोकतान्त्रिक गणतन्त्रमा चुनौती दिने र अस्थिरता निम्त्याउने गतिविधि भइरहेका कारण अहिले गठबन्धन भत्किँदैन ।’ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्डलाई फालेर क्षणिक कुरामा नरमाउने उनले विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्