Logo

‘पार्टीकै नेतालाई मुख्यमन्त्री बनाउन खोज्नु शेखर कोइरालाको अपराध होइन’



काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टीभित्र उद्धव थापाबाहेक अरूलाई मुख्यमन्त्री नबनाउने भनी ‘कार्टेलिङ’ गरेकाले कोसी प्रदेशमा केदार कार्कीले विद्रोह गर्ने स्थिति निम्तिएको बताएका छन् ।
‘नेपाली कांग्रेसलाई अहिले माओवादीको पुच्छर भएको आरोप लागिरहेको छ । जम्मा ३२ सिट भएको पार्टीलाई प्राविधिक कारणले प्रधानमन्त्री दियौं । सात प्रदेशमध्ये दुइटा प्रदेशमा माओवादीकै मुख्यमन्त्री हुनुहुन्छ । कोसी प्रदेशमा ठूलो दल नेपाली कांग्रेस हुँदाहुँदै माओवादीको मुख्यमन्त्री बनाउने कुरा हुन्न, नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर् यो भन्दाखेरि एक जनालाई बनाउने भए बनाउने नत्र माओवादीलाई बनाउने भन्ने केन्द्रबाट कार्टेलिङ लाद्न खोजियो । त्यसको खिलाफमा साथीहरु लाग्नुभएको हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
पोखरेलले अब केदार कार्कीलाई गठबन्धनको उम्मेदवार बनाउने सम्भावना नरहेको पनि औंल्याए । उनले भने, ‘हामीले पहिलेदेखि नै कांग्रेसको जोसुकै होस्, बहुमत जुटाउनेलाई दिनुपर्छ भनेका हौं । गठबन्धनले केदार कार्कीजीलाई नै मुख्यमन्त्री बनाउने भएको भए त हिजो बेलुका पाँच बजे अघि इन्द्र आङ्वोजीको दाबी झिकेर देखाएको भए हुन्थ्यो नि । अब दाबी फिर्ता लिने समय छैन, मिल्दैन ।’

पार्टीको नेतालाई मुख्यमन्त्री बनाउन खोज्नु शेखर कोइरालाको अपराध नभएको दाबी पनि उनले गरे । पोखरेलले भने, ‘कोसी प्रदेशको प्रकरणमा दोषी कोही पनि होइन । जहाँ कांग्रेस बलियो छ, त्यहाँ भए एकजना नभए अर्को दलकलाई दिने भनेर लाद्नु हुँदनैनथ्यो ।’



प्रतिक्रिया दिनुहोस्