काठमाडौं,२७ असोज । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा दिने भएका छन् । उनले आजै पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिन लागेका हुन् ।
कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा आफ्नै पार्टीका सांसद कदार कार्की शनिबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि थापाले नैतिकताको आधारमा राजीनामा दिन लागेका हुन् ।
थापा यसअघि कोशीमा दुईपटक मुख्यमन्त्री बनेका थिए । यद्यपि सर्वोच्चको फैसलाले उनलाई दुबैपटक पदच्युत गरिदिएको थियो ।
गत वर्षको मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका उनले केदार कार्कीलाई नै हराएर संसदीय दलको नेतामा निर्वाचित भएका थिए । १८ मत पाएर उनी संसदीय दलको नेता बन्दा कार्कीले ९ मत र अमृत अर्यालले २ मत पाएका थिए ।