Logo

एमालेको केन्द्रदेखि प्रदेश हाँक्ने कमाण्डर तयार, कुन प्रदेशमा को बने अध्यक्ष ?



कमल बुढाथोकी काठमाडौं,२८ असोज । संघीय संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार मधेश प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भएसँगै एमालेले सात प्रदेश र उपत्यका विशेष प्रदेशगरी ८ वटा प्रदेशमै नेतृत्व चयनको काम सम्पन्न गरेको हो । एमालेले प्रदेशको अधिवेशन सम्पन्न गरेसँगै केन्द्रदेखि प्रदेश हाँक्ने टिम तयार भएको छ । त्यसो त, यसभन्दा अघिपनि एमालेमा प्रदेश कमिटी थिए,अध्यक्षसहतिको नेतृत्व थियो । तर, त्यसमा सबै पार्टी अध्यक्ष केपी शर्मा ओलीको निगाह र विश्वास जित्नसक्नेहरुमात्रै अटाएका थिए । यसपटक भने कार्यकर्ताबाट अनुमोदित भएको प्रदेश कमिटी चयन भएको छ ।

यी नेताले हाँक्नेछन् एमालेको केन्द्रदेखि प्रदेशसम्मको कमाण्ड

एमालेमा हाल केन्द्रीय अध्यक्षका रुपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विराजमान छन् । उनी २०७१ सालको असारमा सम्पन्न एमालेको ९ औं महाधिवेशनबाट नै एमालेको अध्यक्ष पदमा आसिन रहेका छन् । उक्त महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता माधव नेपाललाई हराउँदै ओली अध्यक्ष बनेका थिए । भने, पछि नेकपा काल हुँदै २०७८ को मंसिरमा चितवनको नारायणी तीरमा सम्पन्न १०औं महाअधिवेशनबाट पनि ओलीनै अध्यक्षमा दोहोरिएका थिए । उक्त महाधिवेशनमा पनि उनी सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे तर, तत्कालीन उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएपछि अन्तत: निर्वाचन भयो । निर्वाचनमा कूल खसेको मतको ९५ प्रतिशत भन्दा धेरै मत पाएर ओली अध्यक्षमा निर्वाचित हुँदा रावल पराजित भएका थिए । पराजित बनेका रावल हाल एमालेको सक्रिय भूमिकाभन्दा बाहिरै छन् । एमालेको उक्त अधिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष,६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ जना सचिव गरी १९ जनाको पदाधिकारी चयन गरेको थियो । जसमा हाल दुई जनाको पद रिक्त छ । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ भने सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि कारागारमा रहेका कारण निलम्बनमा छन् ।

कुन प्रदेशमा को बन्यो अध्यक्ष ?

कोशी प्रदेश

एमालेको गत असोज १३ देखि १६ सम्म चलेको कोशी अधिवेशनबाट घनश्याम खतिवडाको नेतृत्वमा प्रदेश कमिटी चयन भएको छ । खतिवडा अर्का प्रत्यासी विनोद ढकाललाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ५१२ मत पाउद पराजित भएका ढकाल ४३० मतमा रोकिएका थिए । त्यस्तै उपाध्यक्ष टीकाराम चेम्जोङ सर्वसम्मत बन्दा सचिवमा राजकुमार भण्डारी, र उपसचिवमा दिवान राई र जलवर्षा राजवंशी निर्वाचित भएका थिए ।

अध्यक्षमा निर्वाचित खतिवडा एमाले अध्यक्ष ओली निकटका नेता हुन् भने पारजित नेता ढकाललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी लगायतको साथ रहेको थियो ।

मधेश प्रदेश

शनिबार सम्पन्न एमाले मधेश प्रदेशको प्रथम अधिवेशनले चन्द्रेश्वर मण्डलको अध्यक्षतामा २३५ जनाको प्रदेश कमिटी सर्वसम्मत रुपमा छानेको छ । अध्यक्षमा मण्डल चयन हुँदा उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल र उपसचिवमा आरती भण्डारी र मह्मोद कैस चयन भएका थिए ।

बागमती प्रदेश

असोज ११ खेदि १३ सम्म चलेको एमाले बागमतीको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । केन्द्रीय नेतृत्वदेखि पार्टी अध्यक्षसमेतले पनि ढुंगेललाई सर्वसम्म अध्यक्ष बनाउन चाहेका थिए । यद्यपि पार्टीभित्रका १० बुँदे पक्षधरका नेताहरुले निर्वाचनमै जानुपर्ने अडान राखेपछि नीर्वाचन भएको थियो । जसमा अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई हराउँदै ढुंगेल निर्वाचित भए । ढुंगेलले ६९६ मत पाउँदा दाहाल ४३९ मतमा रोकिए । त्यस्तै उपाध्यक्षमा दावा लामा, सचिवमा नवराज सिलवाल र उपसचिवमा भक्तकुमारी लामा र प्रेमकुमार महर्जन चयन भएका थिए । संघीय राजधानीसमेत रहेको बागमतीमा ढुंगेलको नेतृत्वमा २ सय ४५ सदस्यीय प्रदेश कमिटी चयन भएको छ ।

गण्डकी प्रदेश

एमालेको असोज १८ मा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले म्याग्दीका नवराज शर्माको नेतृत्वमा प्रदेश कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्षसमेत रहेका शर्मा पुनः अयक्षमा दोहोरिँदा अर्का प्रत्यासी मायानाथ अधिकारी भने पराजित भए । शर्माले ५३१ मत पाउँदा अधिकारीले ३६५ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी र उपसचिवमा मन्जु अधिकारी प्यासी र दामनबहादुर विश्वकर्मा चयन भए ।

अध्यक्षमा निर्वाचित शर्मालाई उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन थियो भने पराजित अधिकारीलाई महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले साथ दिएका थिए ।

लुम्बिनी प्रदेश

एमालेको भदौं १७ गते सम्पन्न लुम्बिनी प्रदेश अधिवेशनले राधाकृष्ण कँडेलको नेतृत्वमा २०५ जनाको प्रदेश कमिटी चयन गरेको छ । १६ भदौमा भएको निर्वाचनमा हरिप्रसाद रिजाललाई पराजित गर्दै कँडेल अध्यक्ष बनेका हुन् । उनले ४७९ मत पाउँदा ४७७ मत पाएका रिजाल २ मतले हार्न बाध्य भए । पराजित रिजाललाई महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीको समर्थन थियो भने निर्वाचित कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन थियो ।

कर्णाली प्रदेश

एमाले कर्णालीले गुलावजंग शाहको नेतृत्वमा १३५ जनाको प्रदेश कमिटी चयन गरेको छ । अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीलाई हराँउदै शाह अध्यक्षमा निर्वाचित भएका थिए । उनले ३६९ मत पाउँदा पराजित शाहीले २०७ मत पाए । त्यस्तै उपाध्यक्षमा टेकराज पछाई, सचिवमा धुर्बबहादुर शाही र उपसचिवमा रवीन्द्रराज शर्मा र रमेशकुमार शाही निर्वाचित भएका थिए ।

अध्यक्षमा निर्वाचित शाहलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको साथ थियो भने पराजित शाहीलाई अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेको थियो ।

सुदूरपश्चिम प्रदेश

एमाले सुदूरपश्चिम प्रदेशले कृष्णप्रसाद जैसीको नेतृत्वमा १५८ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरेको छ । अध्यक्षका अर्का प्रत्यासी भरत साउद, कमल तिमिल्सिना र बचनबहादुर सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जैसी अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर विक र भागिरथी विष्ट चयन भए । दुई उपसचिव भीम रावल निकटका हुन भने अन्य सबै अध्यक्ष केपी शर्मा ओली निकटका नेता हुन् ।

उपत्यका विशेष कमिटी

एमालेसँग आस्था राख्ने मजदूर, किसान र विभिन्न क्षेत्रमा काम गर्ने सरकारी कर्मचारीहरु सम्मिलित प्रदेश विशेष कमिटीमा प्रेम पराजुलीको नेतृत्वमा ७५ जनाको सर्वसम्मत कमिटी चयन भएको छ । जसमा उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल र उपसचिवमा उर्मिला सुनुवार र जीतेन्द्र श्रेष्ठ चयन भएका छन् । उनीहरु यसभन्दा अगाडी पनि सोही पदमा कार्यरत रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्