कर्णाली, २८ असोज । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिएका हुन् ।
मुख्यमन्त्री शर्माले भने, “संविधानको प्रास्तवनामै समाजवादोन्मुख व्यवस्था भनिएको छ र हामी कांग्रेस, कम्युनिष्ट सबैले समाजवाद भनिरहेका छौँ । कस्तो समाजवाद हामीले चाहेका हौँ, त्यसको बहस गर्न जरुरी छ ।” त्यो बहसबाट अहिलेको सामाजिक अन्तर्विरोधलाई समाधान गर्न सकिने भन्दै उनले आर्थिक सम्पन्ता र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शर्माले भने,“जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्तासँगै सुख र सामाजिक न्यायसँगै खुसी जोडिएको छ । प्रदेश सरकारले आर्थिक सम्पन्ताका लागि रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।”
समाजवादी मोर्चा गठन
नेकपा (माओवादी केन्द्र)का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । उक्त मोर्चाको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट टोपबहादुर दर्लामी, नेकपा (एकीकृत समाजवादी)बाट टोपबहादुर रास्कोटी, खड्क केसी, नेकपाका जीत सी, योजना सी र जसपाका तर्फबाट दीप नेपाली र गङ्गा देवकोटा सदस्य रहेका छन् ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का जिल्ला सह–इञ्चार्ज कुलदीप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीबीच एकता जरुरी रहकाले त्यसका लागि मोर्चा गठन गरिएको बताए ।
नेकपाका नेता भरत सीले सुशासन, शान्ति र समृद्धिका लागि समाजवाद अपरिहार्य भएको धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र नागरिक अधिकारको सुरक्षार्थ एक हुनाको विकल्प नरहेकामा जोड दिए । रासस/File photo