Logo

मध्यावधिमा जाँदा देशलाई ठूलो खर्च हुने देखेर कांग्रेस विद्रोहलाई समर्थन गर्‍यौंः केपी ओली



काठमाडौं,२८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्नका लागि आफूहरुले कांग्रेसको विद्रोही समूहलाई समर्थन गरेको दाबी गरेका छन् ।

आइतबार प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले देशको नाजुक आर्थिक अवस्थालाई मध्यनजर गरेरनै उक्त कदम चालिएको दाबी गरे । उनले कोशीमा तत्काल मध्यावधिमा जाँदा देशले धान्न नसक्ने देखेर कांग्रेसको विद्रोही पक्षलाई समर्थन गरेको बताए । त्यसो त ओली आफै प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरेका थिए । त्यो समयमा पनि देशको अर्थतन्त्र जर्जरनै रहेको थियो ।

आफूहरु जोसुकैलाई समर्थन गरेर भए पनि कोशीलाई मध्यावधिबाट जोगाउने पक्षमा रहेको सुनाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘देशको आर्थिक अवस्था नाजुक छ, मध्यावधिमा जाँदा देशलाई ठूलो खर्च हुने देखेर मध्यावधि जोगाउन कांग्रेस विद्रोहलाई समर्थन गर्‍यौं ।’

ओलीले वर्तमान सत्ता गठबन्धनको कारण नागरिकमा संघीयताप्रति वितृष्णा बढेको दाबी गर्दै कोशीमा देखिएको अहिलेको तरल राजनीतिक अवस्थाको मुख्य कारक गठबन्धन सरकार भएको बताए ।

ओलीले नेकपा एमालेलेमात्रै यो देशको रक्षा गर्न सक्छ, विकास गर्न सक्छ भन्नेकार प्रष्ट भईसकेको दाबी गर्दै ०८४ मा हुने आम निर्वाचनमा ५१ प्रतिशत मत दिएर एकल बहुमतको सरकार बनाउने अवसर प्रदान गर्नसमेत प्यूठानी जनतासँग अपील गरेका छन् । ‘एमाले सकाउन हिंडेका आफैं सकिए, अझै सकिँदैछन्, यो मजबुत पार्टी हो, कठिन अवस्था पार गरेका छौं, ग्रासरुटपछि मिसन ८४ मा छौं । त्योभन्दा अघि पार्टीका सबै कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्नेछौं ।’ अध्यक्ष ओलीले भने ।

नौंबहिनि गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि आइतबार प्युठान पुगेका ओली २९ वर्षपछि प्युठान पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्