Logo

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो



ताप्लेजुङ, २८ असोज । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन आज सयौँको सङ्ख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

यस क्षेत्रका होटलहरु दर्शनार्थीले खचाखच बनेको फेदीका होटल व्यवसायी ईन्द्रनारायण भट्टराईले बताए । पाथीभरा देवीले भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहिआएको छ । समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङ्खलाको दृष्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।

नवरात्रका समयमा देवीको पूजाआरधना गर्न उपयुक्त हुने तथा यो समयमा मौसम पनि खुल्ने भएकाले हरेक वर्ष दसैँमा भक्तजनको घुइँचो लाग्ने गरेको भट्टराईको भनाइ थियो ।

पाथीभरा दर्शनको समय सुरु भएसँगै दर्शनार्थीको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । प्रशासन कार्यालयमा बसेको बैठकले तीर्थयात्रीको आगमनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने सहमति भएको उनले जानकारी दिइन् ।

पाथीभरा क्षेत्रमा सहज यातायात, आवास, सुरक्षा, भीडभाडलगायत समस्या समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका चेम्जोङको भनाइ थियो ।

सहज यातायातका लागि मन्दिर क्षेत्रका सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको समितिले जनाएको छ । रासस/File photo



प्रतिक्रिया दिनुहोस्