काठमाडौं,२८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्रीको शपथ लिएसँगै कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । उनले नेकपा एमालेका रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
कार्की शनिबार एमालेको ३९ सांसद र कांग्रेसको विद्रोही समूहको ८ सांसद्को समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हुन् । सत्ता गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि पार्टीबाट विद्रोह गर्दै नेता शेखर कोइरालाको साथले केदार कोशीको मुख्यमन्त्री बनेका हुन् । संविधानको धारा १६८ को उपधारा ५ मा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनुनपर्ने र कुनैपनि सांसदलाई दलको ह्वीप नलाग्ने व्यवस्था रहेको छ । कार्कीले त्यही व्यवस्थाको फाइदा लिँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
केदार कोशीमा मुख्यमन्त्री नियुक्त हुनासाथ काठमाडौंमा भएको एउटा लिखित सहमति भने २४ घण्टामै उल्लंघन भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेता डा शेखर कोइरालाबीच वर्तमान सत्ता गठबन्धनलाई कायमै राख्ने र अझ मजवुद बनाउने लिखित साहमति भएको थियो । ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका थिए ।
शनिबार तीन नेताबीच भएको उक्त लिखित सहमतिको तात्पर्य केदार कार्की नेतृत्वको सरकारलाई गठबन्धनकै सरकारमा बदल्ने र नेकपा एमालेलाई प्रतिपक्षीमा धकेल्ने रहेको विश्लेषण भएको थियो । तर त्यसको २४ घण्टाभित्रमै एमालेसहितको मन्त्रिपरिषद् विस्तार भएपछि उक्त सहमति उल्लंघन भएको र प्रदेशको सत्ता गठबन्धन भत्किएको चर्चा सुरु भएको छ । भने शेखर कोइरालाले सहमति उल्लंघन गरेको आरोप लागेको छ ।