Logo

अति लोकप्रियतावादी र राष्ट्रवादीको मारमा देश



देशको अर्थतन्त्र अहिले भयावह अवस्थामा छ । यसलाई कसैले ठूलो चिन्ताको विषयका रुपमा लिएका छैनन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगले यसबारे कुनै मन्थन गरेका छैनन् । भौतिक योजना, खानेपानी र सिंचाइ मन्त्रालय अन्तर्गतका परियोजनामा ७ अर्ब भुक्तानी हुन सकेको छैन । स्वास्थ्य मन्त्रालय र अस्पतालले करोडौं भुक्तानी पाउन सकेका छैनन् ।
यो भन्दा डरलाग्दो छ, पुँजी पलायन । ठूला व्यापारिक घरानाले आफ्ना भाइभतिजालाई एनआरएन बनाएर एलसी खोल्ने नाममा नेपालको पुँजी विदेशमा लगेर थुपार्ने काम गरिरहेका छन् । उनीहरुले वैधानिक रुपमै पाँच सय पठाएर चार सय उतै राख्ने गरिरहेका छन् ।
बैंकको १८ प्रतिशत ब्याज, १३ प्रतिशत भ्याट अनि १० प्रतिशत अन्य कर, १० मुनाफा राखेर जम्मा ५० प्रतिशत लगानीले अर्थतन्त्रलाई धान्न सक्दैन । दृश्य र अदृश्य बोझले यहाँ कोही लगानी गर्न तयार छैन । हामीले विदेशी लगानी भित्र्याउने जतिसुकै नारा लगाए पनि केही हुनेवाला छैन । हाम्रै देशका लगानीकर्ता नै विश्वास गर्दैनन् भने विदेशी लगानीकर्ताले कसरी सुरक्षित महसुस गर्ने ?
मुलुक उद्योगका लागि अफापसिद्ध नै भयो । उद्योग व्यवसाय ठप्प छन् । यहाँ नयाँ उद्योग स्थापना हुने स्थिति छैन । बाह्य लगानीकर्ता पनि आउने अवस्था छैन । उद्योग नभईकन कसरी व्यापार हुन्छ ? आन्तरिक उत्पादन नभए अर्थतन्त्र कसरी समृद्ध हुन्छ ?
२०४६ पछि मुलुकमाउदार र बजार अर्थव्यवस्था त आयो । तर अर्थतन्त्रका नयाँ नयाँ चुनौती हिजोको संरचना र कानुनले थाम्न सकेनन् । प्लस टु गरेपछि विद्यार्थीहरुमा युरोप, अमेरिका, अस्ट्रेलिया जाने तँछाडमछाड छ । उच्च शिक्षामा हाम्रो लगानी बढ्दै छ । तर विश्वास घट्दो छ । आशा मदै गएको छ ।
कृषि क्षेत्र भगवान भरोसे छ । दुर्गामाताले आशीर्वाद दिए मात्र हो । बैंकको ब्याज अनुदान वास्तविक किसानलाई नगईकन ठूलठूला घरानाले लिएका छन् । अझै पनि मुलुकको जीडीपीमा कृषिको ३० प्रतिशत योगदान छ । तर कृषकको अवस्था दयनीय छ । यसबारे एकचोटि गम्भीर मन्थन गर्नुपर्ने हुन्छ ।
हिजोको अर्थतन्त्र, आजको अर्थतन्त्रमा कति फरक आएको छ ? मिडियाले सपाट ढंगले हेर्नुभएन । हाम्रो गाम्रीण सडक र विद्युतीकरण हेरौं । शिक्षा र स्वास्थ्यका कुरा गरौं । अति लोकप्रियतावादी र अति राष्ट्रवादीको मारमा पर् यो नेपाल । उनीहरुले जनतालाई अनावश्यक रुपमा निराश बनाउन थाले ।
सञ्चार क्षेत्रको कुरा गरौं । हिजो टीभी, एमफएम कति थिए, अहिले कति छन् ? फास्टट्रयाक, सिक्स लेन, फोन लेन, टनेल युगमा जानु प्रगति होइन ? बैंक, वित्तीय संस्था, सडक, शिक्षा, स्वास्थ्य, हवाई क्षेत्र, खानेपानीमा के कति प्रगति भयो भनेर तुलनात्मक रुपमा केलाइएको छैन । म चुनौती दिन्छु, त्यतातर्फ किन ध्यान दिन सकेका छैनौं ।
देशमा केही पनि भएन, देश बचाउनु पर् यो भन्ने अतृप्त आत्माहरुले के बुझ्नुपर्छ भने, हामीले संघर्ष गरेर ल्याएको व्यवस्था र संविधानको उपयोग गरेर नै नयाँ शक्ति जन्मेको हो । व्यक्तिगत स्वतन्त्रता, लोकतन्त्र, गणतन्त्र त्यसकै उपलब्धि हुन् । नेपालमा गाली गरेर नेता बन्ने प्रचलन छ । हिजोको व्यवस्थामा बालेन र रवि जन्मदैनथे, गोल्छे सार्की र नानीमैया दाहाल मात्र जन्मन्थे । यसबारे म जोसँग पनि बहस गर्न तयार छु ।
अहिको अवस्था निम्तनुमा दल र लोकतन्त्रको दोष होइन । यसमा आन्तरिक र बाह्य कारण जिम्मेवार छन् । कोरोनाभाइरस हामीले ल्याएको हो र ? अर्थतन्त्रमा शिथिलता आएकै हो । आन्तरिक नीति, नियम र संरचना निर्माणचाहिँ हामी चुकेकै हौं । तर हल्काफुल्का टिप्पणीमा सहमत छैन । तथ्यांकमा छलफल गरौं न । अर्थतन्त्रको सूचक हेरेर भनौं न । हिजोका संघर्षप्रति मलाई पटक्कै पश्चात्ताप र प्रायश्चित छैन ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले राजनीतिज्ञ एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीसँग गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्