काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पछिल्लो तीन दिनमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उपसभापति र महामन्त्रीलाई बोलाएका छन् ।
कांग्रेस स्रोतका अनुसार देउवाले आज दिउँसो ४ बजे निजी निवास धुम्बाराहीमा उपसभापतिद्धय धनराज गुरुङ र पूर्णबहादुर खड्का तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् ।
छलफलका क्रममा गत शनिबार कोशी प्रदेशमा भएको विद्रोह र त्यसले निम्त्याउने सक्ने संभावित परिदृश्यका बारेमा छलफल हुनेछ ।
कोशी प्रदेशमा शनिबार पार्टीको आधिकारीक निर्णयलाई लत्याउँदै नेता शेखर कोइराला पक्षले विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए । उनी नेकपा एमालेसँग मिलेर मुख्यमन्त्री बनेपछि पार्टीमा भाँडभैलो मच्चिएको छ । कांग्रेसले आधिकारीक रुपमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
तर केन्द्रको निर्णयलाई चुनौती दिँदै नेता कोइरालाले एमालेसँग मिलेर केदारलाई अगाडि बढाएका थिए । केदार मुख्यमन्त्री बनेपछि पार्टीको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्रदेश संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा दिइसकेका छन् । भने शुक्रबार नै उपनेता हिमाल कार्कीले पनि जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
शनिबार बिहान बालुवाटारमा नेता कोइराला , सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वर्तमान सत्ता गठबन्धनलाई मजवुद बनाउने लिखित सहमति भएको थियो । तर , त्यसको २४ घण्टापनि नपुग्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा एमालेलाई सहभागी गराएका थिए । एमालेसहितको सरकार बनेपछि कांग्रेसभित्रै हलचल पैदा भएको छ ।
आजको पाँच नेताबीचको छलफलमा कोशीमा देखिएको परिदृश्यलाई समाधान गर्नेबारेमा बोल्ड डिसिजन हुनसक्ने एक पदाधिकारी बताउँछन् ।