Logo

परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोन कुराकानी



काठमाडौं,२९ असोज । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीसँग टेलिफोनमा कुराकानी गरेका छन् । कतारका विदेश राज्यमन्त्रीसँग आज उनले टेलिफोन वार्ता गरेका हुन् ।

फोनमा उनीहरूबीच नेपाल–कतार द्विपक्षीय सम्बन्ध, सहयोग र इजरायल र प्यालेस्टाइन क्षेत्रमा विकसित घटनाक्रमका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि हराइरहेका नेपाली विद्यार्थी विपीन जोशीको खोजीमा सघाउन उनलाई आग्रह गरेका थिए । इजरायलका अस्पतालमा नभेटिएकाले हमासले विपीनलाई बन्धक बनाएर लगेको अनुमान गरिएको छ ।

हमाससँग कतार र इजिप्टको सम्बन्ध राम्रो छ । परराष्ट्रमन्त्री साउदले टेलिफोनमा कतारका विदेश राज्यमन्त्रीसँग विपीनलाई हमासले बन्धक बनाए नबनाएको बारे बुझ्न आग्रह गरेका हुन् । बन्धक बनाएको भए छुटाउन पहल गरिदिन पनि उनले अनुरोध गरेको बताईएको छ ।

परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको विषय कतारका मिडियाले पनि उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्