Logo

कांग्रेस बिगार्नमा गगन थापा र विश्वप्रकाश पनि उत्तिकै दोषी छन् : महर



काठमाडौं, ३० असोज । नेपाली कांग्रेस नेता नैनसिंह महरले कोसी प्रदेशको सरकार निर्माण विवादमा पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक राख्न माग गरेका छन् ।
‘लोकतन्त्रमा परिणामभन्दा पनि प्रक्रिया महत्त्वपूर्ण हो । कोसी प्रदेशको सरकार निर्माणबारे केन्द्रीय कार्यसम्पादन समिति अनिर्णयको बन्दी भयो । बैठक, उपबैठक गरेर पनि पार लगाउन सकेन । यसले कांग्रेसलाई ठीक ठाउँमा पुर् याएन । पार्टीले समयमै आधिकारिक धारणा राखेन । यसबारे छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक राखिनुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
कोसी प्रदेशमा कांग्रेस विवादमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि उत्तिकै दोषी भएको महरले औंल्याए । उनले भने, ‘महामन्त्रीद्वय पनि आठ-दस दिनदेखि पदाधिकारी, कार्यसम्पादन समितिको बैठकमा निरन्तर हुनुहुन्छ अनि अहिले आएर द्वयले असन्तुष्टि व्यक्त गरेर हुन्छ ? सबै कुरा सभापतिको टाउकोमा राखेर हुन्छ ? पार्टीलाई बिगार्न उहाँहरुको पनि उत्तिकै योगदान छ । कोसी प्रदेशमा जुन अराजक हिसाबले सरकार बनेको छ, त्यसलाई नेपाली कांग्रेसले स्वीकार्छ कि स्पष्टीकरण सोधेर अघि जान्छ ? जिम्मेवार पदाधिकारी बन्ने अनि कुनै धारणा नदिने ? उहाँहरुले कसैलाई दोष लगाएर केही हुनेवाला छैन ।’ पदाधिकारीका नाममा एकलौटी निर्णय गर्दासम्म लोकतान्त्रिक प्रक्रिया कुण्ठित हुने उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्