Logo

म बाबुराम भट्टराईसँग बसेको होइन, उहाँ पनि अध्यक्ष हो, म पनि अध्यक्ष हुँ : यादव



काठमाडौं, ३० असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादवले मुलुकको आर्थिक अवस्था बीआरआईको ऋणमा लिने खालको नभएको बताएका छन् ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा म पनि गएको थिएँ । नेपालको आवश्यकता अनुसार बीआरआई सम्झौता भएको हो । तर अहिले मुलुकमा गठबन्धनको सरकार छ, एउटा एयरपोर्टका लागि लिएको ऋणको ब्याज तिर्न समेत गाह्रो छ । अब कुनै पनि ऋण लिन सकिने स्थिति छैन । हाम्रो प्राथमिकता ऋणभन्दा पनि अनुदान हो । ऋणबारे पछि विचार गर्न सकिन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
प्रधानमन्त्रीको भारत, चीन, अमेरिका र इटालीको भ्रमण फलदायी भ्रमण भएको पनि मन्त्री यादवले औंल्याए । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको कालापानी भ्रमणको वास्तविकता परराष्ट्र मन्त्रालयले स्पष्ट पार्नुपर्ने पनि बताए ।
नेकपा समाजवादी बनाउने सर्तमा नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बीच एकता हुने पनि यादवले बताए । उनले भने, ‘माओवादी केन्द्रसँग विलय होइन, चाँडै एकता हुन्छ । पार्टीको नाम नेकपा समाजवादी राख्छौं । यसबारे हामी महाधिवेशनबाट टुंगो लगाउँछौं । संवाद चलिरहेको छ ।’
पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले नै पार्टीको एकताको प्रस्ताव ल्याएको उनको दाबी छ । यादवले थपे, ‘एउटा कुरा म बाबुरामजीसँग बसेको होइन । बाबुरामजी एउटा अध्यक्ष हो । म पनि एउटा अध्यक्ष हुँ । हामी समान अधिकारमा छौं । चुनाव पहिले बाबुरामजीले नै माओवादीसँग एकता गर्नुपर्छ र समाजवादी नाम राख्नुपर्छ भनेर एउटै चुनाव चिह्न लियौं । आफ्नो क्षेत्र प्रचण्डजीलाई छाडिदिनुभयो । अहिले पनि हामी माओवादीकै संसदीय दलको सदस्य हौं । त्यहीं लेबी काटिन्छ । बाबुरामजी पनि एकता विपक्षमा हुनुहुन्न ।’
जनता समाजवादी पार्टीले निषेधको राजनीति गरेकाले समाजवादी मोर्चामा आफ्नो पार्टी अटाउन नसकेको मन्त्री यादवले बताए । उनले भने, ‘समाजवादी मोर्चामा जसपाका नेताजीले निषेधको राजनीति गर्नुभो । समाजवादी मोर्चा बनाउने कुरा त बाबुरामजीले नै उठाउनुभएको हो नि । जसपाले बाबुरामजीलाई ल्याउने हो भने हामी आउँदैनौं भनेपछि प्रचण्डजीले त्यसै अनुसार गर्नुभएको हो । तर माओवादीको ३२ सिटमा हाम्रो संख्या पनि जोडिएको छ नि । पार्टी एकता भएपछि हामी मोर्चाकै भइहाल्छौं ।’
साथै उनले आगामी पाँच वर्ष गठबन्धनको सरकार चल्ने पनि बताए । यादवले भने, ‘कोसी प्रदेशमा पनि गठबन्धनकै सरकार रहन्छ । केन्द्रमा पनि गठबन्धनकै सरकार पाँच वर्ष चल्छ । कुनै समस्या आउनेवाला छैन । अरु कुरा मनगणन्ते हो ।’



प्रतिक्रिया दिनुहोस्