काठमाडौं, ३० असोज । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरणलाई लिएर आपत्ति जनाएका छन् । उनले गैरआवासीयहरुलाई नागकिरता वितरण गरिनु राष्ट्रघाती कदम भएको टिप्पणी गरेका छन् । उनले सरकारको उक्त कदमलाई विदेशी नागरिकलाई नेपाली नागरिकता दिने खुलेआम राष्ट्रघाती कार्य भएको साहको संज्ञा छ ।
साहले गैरआवासीय नेपालीहरुलाई स्वदेशमा लगानी गर्न कानूनले वर्जित नगरेको पनि उल्लेख गरेका छन् । उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपेन्द्र महतोहरुले अहिलेपनि नेपालमा ठूलो मात्रामा लगानी गरेको दृष्टान्त पेश गर्दै लगानीको आवरण देखाएर गैरआवासीयहरुलाई नागरिकता दिनु गलत भएको टिप्पणी गरेका छन् । साहले पछिल्लो समय देश आर्थिक रुपमा संकटको भूमरीमा पर्नुमा भगौडा वर्गको ठूलो हात रहेको बताउँदै आएका छन् । उनले नेपालबाट पुँजीपतिहरु पनि पलायनको क्रम बढ्दो रहेको र उनीहरुले देशबाट ठूलो स्केलमा पैसा विदेश लगेको दाबी गरेका छन् ।
उनले जारी गरेको वक्तव्यमा भनिएको छ-
विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो । गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । खरबौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्याईसकेका तिनिहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउनेछन । नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन । दुनियाँमा कहीँ नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने पक्का छ । विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याईएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हँुदैछ । यस अपराधजन्य कार्यको बिरुद्ध आम जनताले अब एक भएर प्रतिवाद गरौं । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार !!