Logo

संविधानले दिएका हक अधिकारहरु उल्ट्याउने प्रयास भइरहेको छः रक्षामन्त्री खड्का



काठमाडौं,३० असोज । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानले प्रदान गरेका हक अधिकारहरु उल्ट्याउने प्रयास भइरहेको दाबी गरेका छन् ।

मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले संविधान जारी भएको ९ वर्ष बित्नलाग्दापनि आम मानिसले चाहेको सबै अधिकारहरु पाउन नसकेको बताए । उनले संविधान प्रदत्त हकहरु खोस्ने प्रयाह भइरहेको भन्दै सचेत रहनसमेत आग्रह गरेका छन् ।

‘आपसका मतभेदलाई, असहमतिलाई, व्यक्ति-व्यक्तिबीचका असहमतिलाई पार्टी सञ्चालनका सन्दर्भमा भएका असहमतिलाई, पार्टीको निर्णय प्रक्रियामा भएको असहमतिलाई हामीले यसरी नै छलफल गरेर टुंग्याउनुपर्ने छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर मुद्दा बनाएर संविधानलाई हल्लाउने कोसिस भइरहेको छ । संविधानलाई चलाउने कोसिस भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको छ । त्यसलाई जोगाउनु छ, कार्यान्वयन गर्नु छ’, उनले भने ।

मन्त्री खड्काले आम जनतामा देखिएको निरासालाई चिर्दै वर्तमान सरकार अगाड बढिरहेको बताए । उनले जनताले प्रत्यक्ष महसुस गर्नेगरी विकास र सुशासनका काममा सरकार सदैव तल्लिन रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्