काठमाडौं,३० असोज । बुधबार विश्वासको मत लिन लागेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको नदिने भएको छ ।
राप्रपाको आन्तरिक बैठकले कार्कीको विपक्षमा मत दिने निर्णय भएको सांसद अम्बरबहादुर विष्टले रिपोर्टर्स नेपाललाई जानकारी दिए । उनका अनुसार राप्रपाले औपचारिक निर्णय भोलि बस्ने प्रदेश संसदीय दलको बैठकले गर्नेछ ।
‘राप्रपाले विश्वासको मत नदिने मनस्थिति बनाएको छ । आधिकारिक रुपमा बुधबार नै निर्णय गछौं । अहिलेसम्मको अवस्था हेर्दा कार्कीजीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने तयारी गरेका छौं ’ उनले भने । ‘अवस्था फेरिएको छ । मुख्यमन्त्रीज्यू सविधाजनक बहुमतमा हुनुहुन्छ । त्यसैले हाम्रो विश्वासको मतको जरुरत परेन’विष्टले भने ।
कार्की शनिबार संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । उनी कांग्रेसबाट विद्रोह गर्दै एमालेका ३९ सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले बुधबार विश्वासको मत लिनकै लागि असोज २० मा स्थगित प्रदेश सभाको बैठक भोलि बिहान ११ बजेका लागि डाकिएको छ ।