काठमाडौं,३० असोज । आम जनता पार्टी (आजपा) ले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई नेकपा एमालेले षड्यन्त्रपूर्वक पदमुत्त गराएको आरोप लगाएको छ ।
आजपाका प्रवक्ता चन्द्र भुषण साहले आज एक विज्ञप्ति जारी गर्दै दलीय सिन्डिकेटको आवरणमा केवल प्रभु साहको धर्मपत्नी भएकै नाताले मात्र एमाले पर्टीले पदमुक्त गर्ने दुस्प्रयास एवं षड्यंत्र गरेको गरेको दाबी गरेका छन् ।
स्थानीय तह निर्वाचनमा एमालेबाट निवाचित साह पछि आजपा प्रवेश गरेको भन्दै एमालेले निर्वाचन आयोगमा उजुरी दिएको थियो । एमालेको उजुरीकै आधारमा आज निर्वाचन आयोगले एक सूचना जारी गर्दै पदमुक्त भएको जनाएको थियो ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगको सूचनापछि आजपाले विज्ञप्तिा जारी गर्दै एमालेको उक्त कदम आम जनभावना विपरीत, लोकतन्त्रको उपहास एवं अनैतिकताको पराकाष्ठा रहेको जनाएको छ ।
‘आज मौलापुर नगर नेतृत्वको कारण स्थानीय स्तरमा आम जनतालाई सरकारको प्रत्याभूति सँगसँगै समाजिक न्याय, सुशासन र विकासले आफ्नो एउटा छुट्टै मोडल स्थापित गरिरहेको सन्दर्भमा एउटा कर्तव्यनिष्ठ एवं जनउतरदायी महिला मेयर रिना कुमारी साहलाई दलीय सिन्डिकेटको आवरणमा केवल मा। प्रभु साहज्यूको धर्मपत्नी भएकै नाताले मात्र एमाले पर्टीले आज जसरी पदमुक्त गर्ने दुस्प्रयास एवं षड्यंत्र गरेको छ, यो घटना आम जनभावना विपरीत, लोकतन्त्रको उपहास एवं अनैतिकताको पराकाष्ठा रहेको हाम्रो ठहर छ’ । विज्ञप्तिमा भनिएको छ ।
‘गत स्थानीय निर्वाचनमा मा। प्रभु साह र उहाँको टीमको अथक प्रयास एवं प्रभावको बलमा एमाले पार्टीले अनगिनत स्थानमा चुनाव जितेको विषय जगजाहेर नै छ । तर आज एमाले पार्टीले नैतिकताको आधारमा हाम्रो मत फिर्ता गर्नुको सट्टा उल्टै उहाँको पत्नीलाई कागजी कार्यवाहीको डन्डा देखाई तर्साउने कार्य गर्नु अनैतिकताको पराकाष्ठा मात्र नभई दलीय निरंकुशताद्वारा वास्तविक लोकतन्त्रको हत्या पनि हो’ । साहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन नेकपा विभाजन भएपछि पूर्व माओवादीबाट एमालेमै बसेका प्रभु साह संघीय निर्वाचनको मुखैमा एमाले परित्याग गरेर स्वतन्त्र निर्वाचनमा होमिएका थिए ।