Logo

प्रचण्डलक्षित उपेन्द्र यादवको टिप्पणी : जसपा कम्युनिष्ट पार्टी हुन पनि सक्दैन्



काठमाडौं, ३० असोज । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो दल सैद्धान्तिक रूपले समाजवादी लोकतान्त्रिक पार्टी भएको उल्लेख गरेका छन् । उनले जसपा कम्युनिष्ट पार्टी नभएको र हुन पनि नसक्ने टिप्पणी गरेका छन् ।

हिजो (सोमबार) धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर यादवले यस्तो टिप्पणी गरेका हुन् । उनले समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरुबीचको मोर्चा समाजवादी मोर्चा भएको बताए ।

उनले फेशबुकमा लेखेका छन्–

जनता समाजवादी पार्टी , नेपाल सैद्धान्तिक रूपले समाजवादी लोकतान्त्रिक पार्टी हो । कम्युनिष्ट पार्टी होइन र हुन पनि सक्दैन । यसमा कसैलाई भ्रम न रहोस् ।समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरु बीच को मोर्चा समाजवादी मोर्चा हो । वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन पनि सक्दैन।समाजवादी पार्टी , लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीहरू बीच सहकार्य र मोर्चा मात्र हुनेछ । हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा , बेरोजगारी , सामाजिक – आर्थिक शोषण – उत्पीडनका साथै वर्गीय , जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचान सहितको संघीयता , सुशासन, समानता , स्वतन्त्रता , सामाजिक–अर्थिक न्याय र समाजवाद प्रति आस्था राख्ने भएको हुँदा कम्युनिष्ट वा साम्यवादी हुन सकिन्न । यस सम्बन्धमा कसैलाई कुनै भ्रम अथवा दुबिधा न होस् ।



प्रतिक्रिया दिनुहोस्