Logo

जलवायु संरक्षणबाट प्राप्त ५० करोड रकम मुस्ताङ पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा



काठमाडौं,१ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले जलवायु संरक्षणको क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत प्राप्त गर्ने ५० करोड रकम मुस्ताङलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने । यो नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण रहेको उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हिमाल संरक्षण गर्नु नेपालको मात्रै दायित्व नभएर अन्य देशहरुले पनि यसमा ध्यान दिनुपर्ने बताए । उनले मुस्ताङ क्षेत्र आफैमा विशिष्ट खालको पहिचान र विविधताले भरिएको जिल्ला रहेको बताउँदै उचित संरक्षण र प्रचारप्रसारको खाँचौं रहेको बताए ।

प्रधानमन्त्री दाहालले गत महिना इटलीमा भएको रोम सम्मेलन र अमेरिकामा भएको संयुक्त राष्ट्र संघको महासभामा पनि जलवायु संरक्षणको बारेमा आफूले प्रष्टसँग कुरा राखेको बताए । ‘यदि हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिने हो र ग्लोबल फण्ड त्यस क्षेत्रमा केन्द्रित नगर्ने हो भने ठूलो मानवीय र प्राकृतिक आपदाको स्थिति विश्वले नै सामना गर्नुपर्छ भन्ने कुरा गम्भीरतारुपले राखिएको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्