Logo

गाजा शहरमा इजरायलले गरेको आक्रमणप्रति एमालेको निन्दा, ओलीले गरे कडा शब्दमा भर्त्सना



काठमाडौं,१ कार्तिक । नेकपा एमालेले गाजा शहरमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ। बुधबार वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएको बताएका छन्।

‘गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा र आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं’। ओलीले विज्ञप्तिमा भनेका छन् ।

‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ। हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ । नेकपा एमाले शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ। हामी ‘यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ । निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ। साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छु भन्ने मान्यता राख्दछौं । यसप्रकारका सबैखाले आक्रमण रोक्न हामी सम्बन्धित पक्षलाई आह्वान गर्दछौं ’। एमालेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्