Logo

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा



गण्डकी, १ कात्तिक । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ ।

किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको सहयोगमा चार लाख ७५ हजारको लागतमा भवन निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त आज केन्द शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उत्पादन वृद्धि गरी कृषिजन्य समग्रीमा आत्मनिर्भर बन्दै जाने लक्ष्यअनुरुप महानगरले कृषि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

किसानका उत्पादित वस्तुको सहजरूपमा बजारीकरण होस् भन्ने उद्देश्यले महानगरपालिकाले विभिन्न ३५ वटा कृषिजन्य वस्तुको समर्थन मूल्य तोकिसकेको उनले जानकारी दिए । उत्पादनमा जोड दिन सकिए दुई/तीन वर्षमा तरकारी, मासु र दूधमा आत्मनिर्भर बन्न सकिने बताउँदै महानगर प्रमुख आचार्यले किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउने कुरामा महानगर तयार रहेको बताए ।

उत्पादित वस्तुको बजारीकरणका लागि चिस्यान उपकरण जडान सहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको चर्चा गर्दै उनले महानगरभित्र २५ वटा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र रहेको बताए । पोखरामा तिहारमा खपथ हुने फूलको आयात कम गर्ने उद्देश्यका साथ महानगरपालिकाले यसवर्ष सयपत्री फूलको बीउ वितरण गरेर दुई सय रोपनी जमिनमा फूल लगाइएको उनले बताए ।

वडा नं–२२ का वडाध्यक्ष हिमलाल बरालले वडाभित्र किसानका लागि सिँचाइको सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरपालिकाले स्थानीय उत्पादन प्रवद्र्धन गर्दै त्यसलाई सहजरुपमा उपभोक्तासम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताए ।

केन्द्रमार्फत सङ्कलित कृषि उपजलाई बजारमा पु¥याउँदा त्यसले उत्पादनको पहिचान कायम गर्दै उपभोक्तालाई गुणस्तरीयताको प्रत्याभूति गराउने उनले बताए । केन्द्रका अध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष भीमप्रसाद पौडेललगायतले केन्द्र सञ्चालनसँगै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot