Logo

कोसीमा केदार कार्कीले कांग्रेसको धड्कन देखाइदिनुभो : एमाले सचेतक



काठमाडौं, २ कात्तिक । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्नो पार्टी कोसी प्रदेशमा मध्यावधि निर्वाचनमा जाने गठबन्धनको खेलो रोक्न सफल भएको बताएका छन् ।
‘कोसीमा गठबन्धन मध्यावधि निर्वाचनमा जान चाहन्थ्यो । हामीले त्यो खेलोमा ब्रेक लगाउनुपर्ने र सरकारलाई स्थिरता दिनुपर्ने आवश्यकताका आधारमा नेपाली कांग्रेसका नेतालाई मुख्यमन्त्रीमा समर्थन दिने निर्णय गर् यौं । विकास, समृद्धि र स’शासनको प्रतिबद्धता रहँदासम्म हामीले सरकारमै रहेर काम गर्नेमा दुबिधा छैन,’ नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग बर्तौलाले भने ।
उनले कोसी प्रदेशमा एमालेले नेपाली कांग्रेसको राजनीति जोगाइदिएको दाबी पनि गरे । बर्तौलाले भने, ‘कोसीमा एमालेले सरकार छाडेपछिको स्वाभाविक हकदार कांग्रेस थियो । तर कांग्रेसले माओवादीलाई मुख्यमन्त्री दिन खोज्यो । बुढो हात्ती जस्तो माउतेले जसो भन्छ, त्यसै गर् यो । एमालेले नेपाली कांग्रेसको राजनीति जोगाइदिएको छ ।’

देशभरि कांग्रेस छ र भन्ने स्थितिमा पुगेका बेला कोसीमा केदार कार्कीले कांग्रेसमा धड्कन छ भनेर देखाएको बर्तौलाले बताए । साथै उनले केन्द्रमा पनि स्थिर र परिपक्व सरकार बनाएर जाऊँ भनेर कांग्रेसले हात बढाए एमाले निकास दिन तयार रहेको पनि बताए । उनले भने, ‘मंसिर ४ को निर्वाचनको पहिलो संकेत कम्युनिस्ट फ्लेबरको सरकार बनाउने हो । तर प्रचण्डले प्रेम एमालेसँग गर्नुभयो, लिभिङ टुगेदर कांग्रेससँग गर्नुभयो । त्यो सम्भव नभएपछि कांग्रेस र एमाले मिलेर मुलुकलाई अगाडि बढाउने जनमत हो । यसमा कांग्रेस तयार भयो भने हामी हात बढाउन तयार छौं । हामी मान खोजेर खल्तीमा हात राखेर बस्दैनौं । एमालेले कोसीबाट दिन खोजेको सन्देश पनि यही हो ।’
माओवादीले त अब एमालेले कोसीको सरकार छाड्नुपर्छ भनिरहेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘द्वन्द्वका पुजारीहरुले के भन्छन् ? त्यसमा ध्यान दिनु जरुरी छैन । दुई तिहाइ बहुमतबाट प्रदेशको नामकरण भएपछि जातीय, साम्प्रदायिक, धर्मयुद्धको खेती गर्नेहरुको के कुरा गर्ने ? प्रचण्डलाई मेरा कारणले क्षति भइरहेको छ, भन्ने हेक्कै छैन ।’



प्रतिक्रिया दिनुहोस्