काठमाडौं,२ कार्तिक । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खतरामुक्त भएका छन् ।
बीआरआई सम्मेलनमा भाग लिन चीन गएका श्रेष्ठलाई आज अचानक हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी हाल खतरामुक्त रहेको सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । शर्माले गृहमन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने हालतमा रहेको जानकारी दिइन् ।
श्रेष्ठ हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।
गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गएराति हृदयाघात भयो र उहाँको बेइजिङस्थित अस्पतालमा अप्रेशन भएको छ । उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनुहुनेछ । बोल्नसक्ने स्थितिमा आउनुभएको छ’, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले भनिन् ।
बेइजिङमा अतिथिहरूका लागि निश्चित गरिएको ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस नामक एउटा अस्पतालमा भर्ना गरेर श्रेष्ठको उपचार भइरहेको छ । यो अस्पताल ग्रेट हल अफ द पिपुल्स नजिकै थ्यानआनमन आसपासमा रहेको छ ।