काठमाडौं,२ कार्तिक । गत मंगलबार प्यालेस्टाइनको गाजा शहरमा इजरायली सुरक्षाकर्मीले गरेको हमलाप्रति नेपालले निन्दा व्यक्त गरेको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनाहकमा सर्वसाधरण र बिरामी नागरिकमाथि भएको आक्रमणप्रति घोर निन्दा व्यक्त गरेको छ । नेपालले उक्त आक्रमणमा परेर घाइते भएका सर्वसाधरण नागरिकमा स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौं । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत शनिबार इजरायलमा रहेको प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमण पछि अहिले इजरायलमा तनाव बढ्दो छ । आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । भने ४ जना घाइते भएका छन् ।
नागरिकहरूविरुद्धको आक्रमणको बारेमा नेपाल गम्भीर रूपमा चिन्तित भएको परराष्ट्रले जनाएको छ । परराष्ट्रले जस्तोसुकै परिस्थितिमा पनि जनताको सुरक्षा हुनुपर्ने र गर्न आह्वान गरेको छ ।
“हामी शान्तिमा विश्वास गर्छौँ र विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ,” परराष्ट्रले इजरायल र हमासलाई भनेको छ ।