Logo

‘यात्रुसँग बढी भाडा असुल्ने र ब्ल्याकमा टिकट बेच्ने बिचौलियालाई ठाउँको ठाउँ कारबाही हुन्छ’



काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज र भोलि राजधानीबाट बाहिरिने यात्रुको चाप धान्न मुस्किल हुने बताएका छन् ।
‘नागढुंगा, कोटेश्वर, बल्खु लगायतका नाकाबाट दसैंको पाँचौं दिनसम्म १४-१५ यात्रु राजधानीबाट बाहिरिएका छन् । सुदूरपश्चिमाञ्चलतर्फ नसोचेको भीड छ । आज र भोलि यात्रुको निकै चाप हुन्छ । आज लगभग दुई लाख यात्रु बाहिरिन्छन् । हामीले यात्रुको व्यवस्थापनमा कुनै कसर बाँकी राखेका छैनौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
यात्रुसँग बढी भाडा असुल्ने र ब्ल्याकमा टिकट बेच्ने लाई ठाउँको ठाउँ कारबाही हुने पनि सिटौलाले बताए । उनले थपे, ‘परिचयपत्र र ड्रेस लगाएका कर्मचारीले तोकिएको काउन्टरबाट ब्ल्याक टिकट बेच्ने प्रश्नै छैन । केही बिचौलियाले त्यस्तो गरेको थाहा भएको छ । कतिपय सूचनाका आधारमा हामीले प्रहरी प्रशासनमा जानकारी गराएका छौं । हामीले तत्काल पक्राउ गरेर हदैसम्म कारबाही गर्न अनुरोध गरेका छौं ।’
स्थानीय सरकारहरुले बेलैमा ग्रामीण सडक मर्मत नगरेकाले यात्रुले सास्ती भोगिरहेको पनि उनले बताए । सिटौलाले भने, ‘कतिपय ठाउँमा बाटो अवरुद्ध छ । स्थानीय सरकारहरुले बेलैमा बाटो मर्मतसम्भार गरेनन् । उनीहरुले जनताको करबाट तलबभत्ता खाएर जनतामाथि नै अन्याय र अपराध गरेका छन् । यात्रुहरुले असाध्यै सास्ती पाएका छन् ।’



प्रतिक्रिया दिनुहोस्