Logo

तत्काल कांग्रेस र एमालेको गठबन्धन बन्ने राजनीतिक धरातल छैन : माओवादी नेता



काठमाडौं, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले कोसी प्रदेशमा नेपाली कांग्रेसका विद्रोही सांसदहरुले नेकपा एमालेसँग मिलेर राजनीतिक संस्कार देखाउन नसकेको आरोप लगाएका छन् ।
‘गठबन्धनको आधिकारिक उम्मेदवारलाई रोक्न विद्रोही कांग्रेस र एमाले नांगो ढंगले लागे । कांग्रेसले पार्टीको अन्तरविरोधलाई समयमै हल गर्न सकेन । विद्रोहीहरु संस्थापन समूहलाई पावर सो लागिपरे । राजनीतिक कल्चर देखाउन सकेनन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता सापकोटाले कोसी प्रदेशको बाछिटा केन्द्रीय सरकारमा पर्ने सम्भावना तत्काल नदेखिएको समेत दाबी गरे । उनले भने, ‘तत्काल समस्या संकटका रुपमा देखा परिसकेको छैन । त्यसैले केन्द्रीय समीकरण तलमाथि हुन्छ भन्ने तर्कमा बलियो आधार छैन । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र माननीय शेखर कोइरालाले गठबन्धनमा तलमाथि हुँदैन भनेर हस्ताक्षर गरिसकेको सन्दर्भमा हामीले अब गठबन्धनको स्पिरिट र भावना अनुसार गम्भीरतापूर्वक सोच्नुपर्छ ।’
अहिलेको गठबन्धनको विकल्पमा कांग्रेस र एमाले मिलेर सकार बनाउने सम्भावना नभएको पनि सापकोटाको धारणा छ । उनले भने, ‘पक्कै पनि नेपाली कांग्रेसका केही नेता र माननीयहरु माओवादीसँगको गठबन्धन भंग गरेर एमालेसँग मिलेर जानुपर्ने पक्षमा हुनुहुन्छ । यसलाई लुकाउनुपर्ने केही छैन । तर त्यसबाट राजनीतिक रुपमा के फाइदा हुन्छ र ? कांग्रेसको मूल नेतृत्व र बहुमत सांसद त्यो चाहँदैनन् । त्यसैले केन्द्रको गठबन्धनको विकल्पमा कांग्रेस र एमालेको गठबन्धन हुने राजनीतिक धरातल छैन । केही समय यही गठबन्धन अघि बढ्छ ।’ साथै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएको पनि औंल्याए ।
अर्को प्रसंगमा सांसद सापकोटाले बजारमा राज्यको भन्दा प्रभावशाली उपस्थिति बिचौलियाको रहेकाले नागरिकले महँगी र कृत्रिम अभाव झेल्नु परिरहेको बताए । उनले थपे, ‘हाम्रो देश बिचौलियाको दबाब र प्रभावमा छ । उनीहरुले आफ्नो अनुकूलमा बजार मूल्य घटाउने र बढाउने गरिरहेका छन् । चाडबाडका सन्दर्भमा बजार भाउ बढेको छ । जनताले चाहेका कुरा सहज रुपमा पाएका छन् । बजारमा राज्यको भन्दा प्रभावशाली उपस्थिति बिचौलियाको छ ।’



प्रतिक्रिया दिनुहोस्