Logo

यस्तो छ फूलपातीको महत्त्व



फूलपाती दुर्गापक्षको सातौं दिन हो । अपराह्नदेखि साँझसम्म बाजागाजा र मालश्री धुनका साथ धान, हलेदो, केरा, बेल, उखु, दारिम, अशोक, जयन्ती आदि नौ किसिमका वृक्ष र वनस्पति जम्मा गरी घर-घरमा फूलपाती भित्र्याउने चलन छ । यसलाई नवपत्रिका पनि भनिन्छ । हरेक पत्रिकाका आआफ्ना अधिष्ठात्री देवी हुन्छन् । जस्तैः धानको अधिष्ठात्री देवी महालक्ष्मी हुन् । दारिमको रक्तचण्डिका र बेलको शिवा अधिष्ठात्री देवी हुन् । फूल, पात, लहरा देवी दुर्गालाई अति मनपर्छ ।

ब्रह्माण्ड सञ्चालनका लागि दुर्गा जगदम्बिकालाई सबैको सहयोग चाहिन्छ । राज्य चलाउन मन्त्री, सचिव चाहिएजस्तै उनलाई पनि महिषासुर आदि दानवको नाश गर्न नवदुर्गा, अष्टमातृका जस्ता अनेक सहयोगिनी चाहिन्छन् । उनीहरुका प्रिय वृक्ष र वनस्पतिलाई सचेत र सजग बनाउनुपर्छ दुर्गामाताले । नवपत्रिका अर्थात् फूलपातीमा सबै देवीको निवास हुन्छ । आज टुँडिखेलमा फूलपाती बढाइँ हुन्छ । खुसीयाली मनाउन बन्दुक पड्काइन्छ, पन्चेबाजा बजाइन्छ । देवीघरमा एकप्रकारले उत्साह र उमंगको सञ्चार हुन्छ ।

भोलि महाअष्टमीमा दुर्गाको महापूजा गर्नुपर्ने हुन्छ । दुर्गा भगवतीका हातहतियार, ढाल तरबार, खुँडा, खुकुरीको पनि पूजा हुन्छ । देवी दुर्गाका चतुरंगिणी सेना हुन्छन् । हात्तीसेना, रथसेना, अश्वसेना र पैदल सेना । कालरात्रिमा दुर्गालाई प्रसन्न पार्न पूजा गरिन्छ, पशुपन्छीको विशेष बलि दिइन्छ । दुर्गा भगवतीको व्रत र उपवास बसेर प्रसाद लिइन्छ । यस्तो रमाइलो वातावरणमा दुर्गा जाज्वल्यमान र साक्षात् हुन्छिन् ।
कालरात्रिको विशेष महत्त्व छ । राज्यले महाअष्टमीमा महापूजा गर्नैपर्छ । राज्यले जनतालाई सुख, शान्ति, समृद्धि र सुशासनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति प्राप्त गर्नुपर्छ । राज्यकोषको सुदृढीकरणका लागि प्रभुशक्ति अर्थात् पैसा आर्जन गर्नुपर्छ । कस्ता किसिमका मन्त्री, सचिव, कर्मचारी राख्ने भन्ने नीति निर्धारण गर्न मन्त्रशक्ति चाहिन्छ । उत्साहशक्ति भनेको सैन्य शक्ति हो । राज्यमा हरहमेसा सेना सतर्क हुनुपर्छ । जनताको जीउधनको सुरक्षा, जनताको कल्याण र शत्रुपक्षको जोगिन उत्साहशक्ति अनिवार्य छ । त्यसका लागि ५४ राँगा, ५४ बोका बलि दिएर कालरात्रि गर्ने चलन छ । राज्यको शक्ति बढेका बेला बलि पनि बढाएर दिनुपर्छ भन्ने पनि शास्त्रीय मान्यता छ ।
संस्कृतिविद् एवं पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष गौतमसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित ।



प्रतिक्रिया दिनुहोस्