Logo

संसदीय समितिका सभापतिलाई प्रश्न– बजारमा चिनी छ कि छैन ?



काठमाडौं, ४ कात्तिक । जनमत पार्टीका नेता एवं संसद्को उद्योग, वाणिज्य, आपूर्ति, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले दसैंमा चिनी सर्वसुलभ हुन नसकेको बताएका छन् ।
‘बजारमा चिनी हुँदै नभएको होइन । नियमित आपूर्ति भइरहेको पनि छ । तर बजारभाउमा नियन्त्रण छैन । नीतिगत र व्यक्तिगत कारणले महँगो भएको छ । नेपालमा ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ, तर मिलवालाले डेढ लाख मेट्रिक टनभन्दा बढी उत्पादन गर्न सक्दैनन् । चाहिनेभन्दा कम उत्पादन भएपछि अभाव नहुने कुरा होइन । विभिन्न किसिमका व्यक्तिहरुले मुनाफा लिएर चिनी बेचिरहेका छन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
संसदीय समितिले बजारको अनुगमन गरेर ७६१ वटै सरकारलाई निरन्तर निर्देशन दिइरहेको पनि खानले बताए । उनले भने, ‘हामी चुप लागेर बसेका छैनौं । कञ्चनपुरदेखि बाँकेसम्म बजार अनुगमन गरेका छौं । सीमा-नाकालाई व्यवस्थापन नगरेसम्म नेपालको बजार व्यवस्थित हुँदैन । नेपाल र भारतका व्यापारीको मिलेमतोले एकातिर जनताले गुणस्तरीय वस्तु पाएका छैनन् भने राज्यले राजस्व पनि प्राप्त गर्न सकेको छैन ।’ यसबारे उपभोक्ता संघहरुले रिपोर्ट सार्वजनिक नगरेको आरोप पनि उनले लगाए ।
संविधानको अनुसूची ८ अनुसार उपभोक्ता शिक्षा, बजारको निरीक्षण, अनुगमन, सुनवाइ र क्षतिपूर्तिका निम्ति उपभोक्ता अदालतका साथै एकीकृत उपभोक्ता विधेयकको आवश्यकता खानले औंल्याए । अर्को प्रसंगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दौडधुप देखिए पनि मन्त्रीहरुको सक्रियता नदेखिएको आरोप लगाए । उनले भने, ‘केही मन्त्री त सरकारमा छन् भन्ने पनि जनतालाई जानकारी छैन । उहाँहरु मिडियामा आउन चाहनुहुन्न कि जवाफदेही हुनुहुन्न ?’ सरकारले केही गरेर देखाउनैपर्ने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्