काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकको आर्थिक अवस्था एकदमै खराब रहेको बताएका छन् । सरकारले सुशासनको क्षेत्रमा पनि उल्लेखनीय काम गर्न नसकेको तामाङको टिप्पणी छ ।
उनले कोशीमा आफूहरुले मुलुकलाई मध्यावधिमा लगेर थप आर्थिक भार पार्न नहुने ठानेर कांग्रेसको विद्रोही सांसदहरुलाई साथ दिएको पनि स्पष्ट पारे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले भैरहेको केन्द्रीय गठबन्धनभित्र एमाले संलग्न हुने कुरा सोच्न पनि नसकिने जिकिर गरे । प्रचण्ड नेतृत्वको सरकारले सुशासनको निम्ति अलिक बढि नै हल्लाखल्ला मच्चाएको उनको आरोप छ । तर, सुशासनको पक्षमा सरकार असफल भैसकेको उनको दाबी छ । उनले भने,‘सुरुमा अब अलिक बढि नै हल्लाखल्ला भयो । प्रधानमन्त्रीज्यूले सदनको रोष्ट्रममा उभिएर बोल्नुभयो, कास्टिङ हो त यो, फिल्म आउन बाँकी छ भन्नुभयो । फिल्मको सुटिङ चल्दै थियो, जति जति फिल्मको सुटिङ चल्छ, त्यति त्यति भिलेन चाहीँ उहाँहरुकै अनुहार आउन थाल्यो । आँफै भिलेन हुने फिल्म सुटिङ गरेर फेरि देखाउन त किन सक्नुहुन्थ्यो र ? परिणाम त आएन ।’