Logo

राजतन्त्र फर्काउने कुरा दिवास्वप्न हाे : माओवादी नेता



काठमाडौं, कात्तिक १० । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार रामदीप आचार्यले पुष्पकमल दाहाल नेतृत्वकाे सरकार कसैले ढाल्न नसक्ने दाबी गरेका छन् । ‘सरकारविरुद्ध विभिन्न गतिविधि भइरहेका छन् । सरकारले जनता, सुशासन, समृद्धि, अन्तराष्ट्रिय सम्बन्धका पक्षमा काम गरेकाे कतिपय शक्तिलाई मन परेकाे छैन । तर याे सरकार ढल्दैन भनेर हिजाे प्रचण्डले रुकुममा पुगेर आश्वस्त पारिसक्नुभएकाे छ,´ नेपाली रेडियाे नेटवर्ककाे नेपाली बहस´का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

सल्लाहकार आचार्यले सरकारलाई ढाल्ने चलखेलकाे ढाेका बन्द भइसकेकाे बताए । उनले भने,“काेशी प्रदेशमा गठबन्धन टुटाउने चलखेल भएकाे थियाे । शीर्ष नेताहरूले गठबन्धनप्रति प्रतिबद्धता जनाइसकेपछि त्याे समाधान भइसकेकाे छ । गठबन्धन निरन्तर अघि बढ्छ ।”

नेपाली कांग्रेसले सरकार छाड्ने र बाहिरिने सम्भावना नरहेकाे पनि उनले बताए । आचार्यले भने, ‘कांग्रेस सरकारमै रहेर महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेकाे छ । कतिपय प्रदेशमा नेतृत्व गरिरहेकाे छ, कतिपय प्रदेशमा सरकारमा छ । अहिले सरकार छाेड्ने र बाहिरिने सवाल नै छैन ।´

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे राजतन्त्र फर्काउने मनसाय उहिलेदेखिकै भएकाले नयाँ कुरा नभएकाे आचार्यकाे टिप्पणी छ । राजा फर्काउने कुरा दिवास्वप्न मात्र भएकाे उनले बताए । राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र सफल पत्रकार र असफल राजनीतिज्ञ भएकाे आराेप पनि उनले लगाए ।

आचार्यले भने, `मिश्रले त आफ्नै पार्टी बनाउनुभएकाे थियाे । विचारभन्दा माथि देश भन्नुभएकाे थियाे । अहिले त उहाँ राप्रपामा शरणार्थी हाे । त्यसैले उहाँका बारेमा थप टिप्पणी गर्नुकाे कुनै अर्थ छैन ।´ साथै उनल गणतन्त्र कमजोर भयाे भन्नु स्यालहुइँया भएकाे बताए ।



प्रतिक्रिया दिनुहोस्