काठमाडौं,१० कार्तिक । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ।
अध्यक्ष तिमिल्सिना र बुटिमेरबीचअन्तर ब्यवस्थापिका संघ (आइपीयू) को १४७ औं महासभाका क्रममा एङ्गोलाको संसद भवनमा बिहीबार भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए।
‘नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद र संसदहरूको महत्त्वपूर्ण भूमिका रहेको छ’,अध्यक्ष तिमिल्सिनाले भने,‘संसदीय अनुभवको आपसी आदनप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रकृयालाई सवल बनाउने अवसर हाम्रोसामु रहेको छ।’
उनले दुई देशकाबीचमा यसअघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे। ‘आगामी दिनमा नेपाल र आयरल्याण्डका संसदबीच सांसद र कर्मचारी दुवै तहमा भ्रमण÷आदानप्रदान निरन्तर गर्न सकिएमा एक अर्काको असल अभ्यास सिकेर दुवै संसद् लाभान्वित हुनेछन।’
अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बिचमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गरे।
भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुवै देशले साझा मुद्दाहरूमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाएका छन्।
नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको पनि बताए। आयरल्याण्डमा बस्ने नेपालीहरूले त्यहाँको औषधी उद्योग र स्वास्थ्य क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै त्यसका लागि धन्यवाद समेत उनले दिएका छन्।