काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा प्रधानमन्त्री दाहाल पनि पुगेका हुन् ।
कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।
बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय