काठमाडौं, कात्तिक १३ । एक हजार किलो अदुवा उत्पादन गरे पाँच हजार पुरस्कार । चार सय किलो बेसार र लसन, प्याज उत्पादन गरे पाँच हजार पुरस्कार । कृषि उपकरण तथा उन्नत बीउबिजन, फलफूलका बिरुवामा ५० देखि ८५ प्रतिशतसम्म सहुलियत । तनहुँको घिरिङ गाउँपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम ल्याएको छ ।
किसानलाई व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्न यस्तो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए । ‘नेपाली किसानहरू पुर्ख्यौली खेतीकिसानी छाडेर वैदेशिक रोजगारी र अरू सानातिना व्यवसायमा लागिरहेका छन् । कृषिको नियमितता र निरन्तरताका निम्ति प्रोत्साहन दिन यो कार्यक्रम ल्याएका हौं,’ नेपाली रेडियो नेटवर्कको पालिका बहसका लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
अध्यक्ष थापाले गत वर्ष अदुवा उत्पादक किसानले सात लाख २० हजार रुपियाँ पुरस्कार लगेको बताए । उनले थपे, घिरिङमा अदुवा उत्पादन अत्यधिक छ । बाँदरले पनि दुःख नदिने भएकाले अदुवामा आकर्षण छ । मेसो नपाएर हो कि लसुन(प्याज उत्पादक भने पुरस्कार लिन आएनन् । साथै गाउँपालिकाले खसी बोकामा एक किलो बराबर १० रुपियाँ अनुदानको व्यवस्था गरेको छ ।