Logo

थाई एयरले पुनः थाल्यो काठमाडौँ–बैंकक उडान



काठमाण्डौ, कार्तिक १३ । थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एअरवेज इन्टरनेशनलले काठमाण्डौ–बैङ्कक उडान पुनः शुरु गरेको छ । कोभिड–१९ का कारण काठमाण्डौको उडान बन्द गरेको कम्पनीले आइतबारदेखि पुनः उडान थालेको हो ।

कम्पनीले कोभिडका कारण सन् २०२० मार्च २५ तारिखदेखि काठमाण्डौ गन्तव्यको उडान बन्द गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एअरवेजले उडान फेरि थालेको छ । थाई एअरवेजको उडान सुरु भएसँगै थाई स्माइलको उडान भने रोकिएको छ । थाई एअरवेज र थाई स्माइल एक आपसमा गाभिएपछि थाई एअरवेजको पुर्नआगमन भएको हो ।

थाई एअरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालमा पहिलो पटक उडान सञ्चालन गरेको थियो । कम्पनीले नेपालको उड्डयन इतिहासमा लामो समय उडान गरेको छ । कोभिडपछि अन्तर्राष्ट्रिय उडान पुरानै लयमा फर्किएको विमानस्थल कार्यालयले जनाएको छ ।

गएको असोज ३० गते अहिलेसम्मकै सर्वाधिक उडान दुईतर्फी एक सय १३ उडान भएको थियो । कात्तिकको पहिलो हप्ता एक सय १० हाराहारी उडान भएको थियो । नेपालमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot