Logo

सिंगापुरविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गुल्सन भन्छन्: टी-२० विश्वकपमा छनोट हुने सम्भावना शतप्रतिशत छ



काठमाडौं,१३ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी गुल्सन झाले नेपाल टी-२० विश्वकपमा छनोट हुनेमा विश्वस्त रहेको बताएका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेटको रवाफिलो जित दर्ता गरेसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुल्सनले विश्वकपमा छनोट हुने सम्भावन रहेका बताएका हुन् ।

“खेल एकदमै राम्रो भयो । मोन्टी देशाई सरले आएर मेरो रोलबारे के गर्नुपर्ने भन्नुभएको थियो, मैले त्यही गरिरहेको छु । मेरो रोल नै यही हो, टिमलाई कति योगदान दिन सकिन्छ भन्नेमा ध्यान हुन्छ । ब्याटिङ पाएको बेला ब्याटिङ र बलिङ गर्ने,” गुल्सनले भने, “ट्वान्टी–२० विश्वकपमा छनोट हुनु नेपाली टिमको लागि एकदमै ठूलो मौका हो । एकपटक खेलेका थियौँ । अहिले घरेलु मैदानमै भएको प्रतियोगिताबाट छनोट हुने अवसर छ । छनोट हुने सम्भावना शतप्रतिशत छ ।”

आज भएको सिंगापुरविरुद्धको खेलमा गुल्सनले निक्कै उत्कृष्ट प्रदर्शन गरेका थिए । ४ ओभर बलिङ गरेका उनले १३ वटा डटबल फ्याँक्दै मात्र २१ रन दिएर महत्वपूर्ण २ विकेट लिएका थिए । उनकै बलबाट ३० बलमा ९ चौका र १ छक्का हिर्काउँदै ४६ रन बनाएर विष्फोटक ब्याटिङ गरिरहेका रोहन रंगराजन आउट भएका थिए । नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्