Logo

प्रदेश अधिवेशनमा पीएस र खगराजले गुट खडा गरेको भन्दै ओलीले पोखे असन्तुष्टि



काठमाडौं,१३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत राजनीति नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार नेकपा एमकालेको गण्डकी प्रदेश कमिटीको नवनिर्वाचित कमिटीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रदेश अधिवेशनमा केही नेताहरुलाई गुट खडा गरेको जनस्तरबाट टिप्पणी सुनिएको भन्दै सचेत गराएका छन् ।

‘प्रतिस्पर्धामा जुन स्तरको स्वच्छता आवश्यक थियो त्यसमा कमी रहेको जनस्तरको टिप्पणी जानकारी गराइदिन्छु,’ उनले भने, ‘त्यसमा तपाईंहरु सतर्क हुनुपर्छ । घाटा तपाईंहरु आफैंलाई हुन्छ । मुख्य कुरा हो नेकपा एमाले ।’

एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन गत महिना सम्पन्न भएको थियो । केन्द्रीय नेतृत्वले सर्वसम्मत नेतृत्व चयन गर्न दिएको निर्देशनलाई उल्लंघन गर्दै पूर्व मुख्यमन्त्रीद्धय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीले आ-आफ्नो प्यानल खडा गरेका थिए ।

एमालेका उपमहासचिव समेत रहेका गुरुङले निवर्तमान अध्यक्ष नवराज शर्मालाई मैदान उतारेका थिए । भने स्थायी कमिटी सदस्य अधिकारीले पृथ्वीसुब्बा कै गृहजिल्ला लमजुङका मायानाथ अधिकारीलाई मैदान उतारेका थिए । तर, निर्वाचनमा भने पीएस पक्षका शर्माको प्यानल नै विजयी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्