अस्ताना (काजकिस्तान), १३ कात्तिक । मध्य काजकिस्तानमा भएको कोइलाखानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको आपत्कालीन मन्त्रालयले आइतबार बताएको छ ।
मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “कारागान्दा सहरमा आर्सेलरमित्तल टेमिरटाउ कम्पनीको कोस्टेन्को खानीमा शनिबार भएको आगलागीपछि वेपत्ता भएका खानी मजदुरहरूको उद्धार अभियान अहिले पनि जारी छ ।”
यसअघि शनिबार कजाक सरकारले पीडितहरूको सम्मानमा आइतबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको थियो ।
आगो लाग्दा खानीभित्र दुई सय ५२ मानिस थिए । पछि दुई सयभन्दा धेरै मानिसलाई बाहिर निकालिएको थियो । दुर्घटनाको अनुसन्धान भइरहेको छ । रासस