काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः १५ बजेबाट सुरु हुँदैछ ।
नेपाल र मलेसियाबीचको खेलका क्रममा नेपालका दुई खेलाडीहरु स्पिनर सन्दीप लामिछाने तथा फास्ट बलर करण केसीले एक सयौँ अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहिसकेका सन्दीपले नेपालका लागि हालसम्म ५१ एकदिवसीय तथा ४८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन्दीपले एकदिवसीयमा १ सय १२ विकेट तथा टी-ट्वान्टीमा ९१ विकेट हात पारेका छन् । उनले २ हजार ७ सय ७४ बलको सामना गर्दा २ हजार २३ रन दिएर ११२ विकेट लिएका हुन् । भने टी-२० मा ११३७ रन दिएर ९१ विकेट आफ्नो नाममा गरेका हुन् ।
अर्कोतर्फ फास्ट बलर करणले नेपालका लागि ४८ एकदिवसीय तथा ५१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले एकदिवसीय र टी-ट्वान्टीमा समान ७४-७४ विकेट हात पारेका छन् । जसमा एक दिवसीयमा १ हजार ८ सय ५१ रन र टी-२० मा १ हजार २ सय ७१ रन खर्चिएका छन् ।
यसअघि अलराउन्डर दिपेन्द्र सिंह ऐरी र फास्ट बलर सोमपाल कामीले नेपालका लागि एकसयौँ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
दिपेन्द्रले समान ५२ एकदिवसीय तथा ५२ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने सोमपालले ४९ एकदिवसीय तथा ५१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।