Logo

बढ्दैछ काभ्रेमा व्यावसायिक कृषिको लहर



काभ्रेपलाञ्चोक, १७ कात्तिक । केन्द्रीय राजधानी काठमाडौँलगायत मुख्य सहरमा चाहिने तरकारीमध्ये ३० प्रतिशत काभ्रेपलाञ्चोकको उत्पादनले धानेको प्रतिवेदनले देखाउँदै आएको छ । विशेषगरी आलु र गोलभेँडाले काभ्रेपलाञ्चोक प्रखात छ । अन्य तरकारीमा पनि अग्रणी देखिएको यस जिल्लामा पछिल्लो वर्ष व्यावसायिक रुपमा कृषि उत्पादनमा लागेको पाइन्छ । यहाँका पानी उपलब्ध भएका जमिन र हरेक समथर फाँटमा टनेलमा सुरक्षित साथ तरकारी उत्पादन गरेको देख्न सकिन्छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ खरिबोटका कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठको दैनिकी हिजोआज आफ्नै खेतबारीमा बित्ने गरेको छ । केही वर्षअघि वैदेशिक रोजगारीमा गएर सोचेजस्तो कमाई नभएपछि तीन वर्षअघि स्वदेश फर्किएर उनीहरुले पनौतीमै सात रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा लागे । अहिले उनीहरु आफ्नै व्यवसायबाट सन्तुष्ट छन् ।

इन्दुले नौ वर्ष र कृष्णले तीन वर्ष विदेशमा बसेर दम्पतीले कमाएको पाँच लाख र थप पाँच लाख सापटी लिएर सुरु गरेको तरकारी खेतीबाट उनीहरुले अहिले वार्षिक १० देखि १२ लाखसम्म कमाई हुने गरेको छ । “यसबाट हामी सन्तुष्ट छौँ”, इन्दुले भने । उनीहरुले सात रोपनी जग्गाको वार्षिक एक लाख ३० हजार भाडा तिर्नुपर्ने सम्झौता गरेका छन् ।

त्यसो त, नेपालमा बेरोजगार भएपछि वैदेशिक रोजगारीमा जानु हिजोआज सामान्य जस्तै भएको छ । एकातिर यो बाध्यता भएको छ भने अर्कातिर ‘फेसन’कै रुपमा विदेशिएका पनि पाइन्छन् । यसै बीचमा विदेशमा भनेजस्तो काम नपाएर हण्डर खाएपछि स्वदेश फर्किएर कृषिमा रमाउनेहरु पनि भेटिन थालेका छन् ।

वरिपरि हरियो वातावरणसँगै फाँटै सेताम्य हुने गरी प्लास्टिकका टनेलले भरिएको श्रेष्ठ दम्पतीको कृषि फारम अहिले गोलभेँडालगायत ४५ वटा टनेलामा तरकारीले भरिएको छ । तरकारी खेतीका लागि सिँचाइको पनि व्यवस्था आफैँले मिलाएको उनले बताए । “केही गर्छु भन्नेका लागि स्वदेशमै आम्दानीको अवसर रहेछ, हामी काम खोज्दै विदेश गएर धेरै दुःख पायौँ, अहिले हामी खुसी छौँ, उत्पादन त राम्रै हुन्छ तर कुनै वर्ष तरकारीको उचित मूल्य पाइँदैन, यस वर्ष भने गोलभेँडाले राम्रै भाउ पायो र लगानी उठाउन सहज भयो”, कृष्णले भने ।

यतिबेला गोलभेँडा र विविध तरकारीले श्रेष्ठ दम्पतीको कृषि व्यवसाय ढाकिएको छ । उनीहरुले अब एउटा सानो गाडी भाडामा लिएर भए पनि आफैँ चलाएर तरकारी बजार लैजाने योजना बनाएका छन् । इन्दुलाई सानो काखे बच्चा च्यापेर दिनभरि काममा खटिन सजिलो त छैन तर विदेशमा गएर काम गर्नुभन्दा आफ्नैमा जे सकेको गर्न र जे भएको खान पाइएकामा उनी सन्तुष्ट देखिन्छन् । उनी भन्छन्, “दैनिक रुपमा विदेशिएका हजारौँ युवालाई सरकारले यस्ता कृषि कार्यमा लगाउनुपर्नेमा त्यसो हुन सकेको छैन ।” काम नपाएर विदेशको मात्रै रटान दिनेहरुका लागि श्रेष्ठ दम्पती उदाहरण बनेका छन् । अब शरीरले सकुन्जेल यसरी नै तरकारी खेती गरिरहने कृष्ण र इन्दुले सोच बनाएका छन् ।

उनीहरु मौसमअनुसारका सबैखाले तरकारी लगाउने गर्छन् । काउली, बन्दाकोभी, बोडी, साग, करेला, गोलभेँडा, काँक्रालगायत तरकारी लगाउँदै आएका उनीहरुले व्यावसायिक कृषिका नाममा कतैबाट सहयोग लिएका छैनन् । सरकारले सहयोग गरे थप ४५ वटा टनेल थपेर अरू पनि तरकारी खेती गर्ने कृष्णले बताए ।

यस्तै काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलबाट करिब सय किलोमिटर टाढा कोशीपारिस्थित चौँरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिंह लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन् । विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यू सिमी, काउली, चम्सुर, मेथी, लसुन, बोडी र सागसब्जी उत्पादन गर्दै आएका छन् ।

पाँच वर्षअघि क्षेत्रीय कृषि तालिम केन्द्र धनुषाबाट ५१ दिनको तरकारी खेती गर्ने तरिकासम्बन्धी तालिम लिनुभएका लामाले करिब दुई वर्षअगाडि देखि निरन्तर खेतीमा लाग्दै आएका छन् । “बारीमा उत्पादन भएको तरकारी गाउँकै मादन, कुँडारी, कात्तिके देउरालीको बजारमा बिक्री हुने गरेको छ”, उनले भने । एकातिर बजार सानो अर्कोतिर आफ्नो भएको थोरै बारीमा उत्पादन गरेको तरकारी बिक्रीका लागि खासै समस्या नभएको उनले बताए । उनका अनुसार वडाका कर्मचारी तथा विद्यालयका शिक्षक आफैँले पनि ताजा तरकारीका लागि बारीमा नै आएर किनेर लैजाने गर्छन् ।

तरकारी खेतीबाट शिक्षण र घर खर्चका लागि कुनै समस्या नभएको उनले बताए । तरकारी खेतीका लागि आवश्यक पानी नहुँदा सोचेजति उत्पादन गर्न नसकेको उनले दुखेसो गरे । हाल उनी हातधुने र कपडा धोएर खेर जाने पानीलाई सङ्कलन गरेर तरकारी खेती गर्छन् । उनीहरुजस्ता परिश्रमी र पौरखी किसानलाई सरकारले आवश्यक सहयोग गर्नैपर्ने जरुरी देखिन्छ ।

त्यसो त पाँचखाल क्षेत्रका किसान आफैँले उत्पादन गरेको आलु र गोलभेँडाबाट परिकार उत्पादनतर्फ उन्मुख देखिएका छन् । आलुबाट चिप्स तथा गोलभेँडाबाट सस बनाउने अभियानका लागेका उनीहरु ‘उद्योगी’ बन्ने तरखरमा छन् । एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि (आइपिएम) कृषक पाठशालामा अध्ययन गरी तरकारीलगायत खाद्यान्नमा विषादी न्यूनीकरण गरिरहेका पाँचखालका कृषकलाई लव ग्रिन नेपाल नामक संस्थाले उद्यामीतर्फ प्रोत्साहित गरिरहेको छ । उक्त संस्थाले स्थानीय चार सहकारीका महिलालाई चिप्स र सस बनाउने तालिम प्रदान गरिसकेको छ । “क्रमशः अन्य सहकारीमा आबद्ध कृषकलाई तालिमसँगै उद्यमी बनाउने अभियानमा छौँ, उद्यामी बन्ने कृषकलाई सहकारीमार्फत लगानी गर्दे जानेछौँ” लभ ग्रीनका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भने ।

किसानलाई उद्योगी बनाउने यस उद्देश्यले पाँचखाल नगरपालिकाको उत्पादनमूलक उद्योग स्थापना गर्ने उद्देश्य पूर्ति गर्दै जाने अपेक्षा गरिएको छ । किसानले सानो पूँजीले आफैँले उत्पादन गरेको तरकारीबाट घरमै थप परिकार निर्माण गरी आयआर्जन गर्न सकिने उद्देश्यले इन्छुक कृषकलाई तालिम प्रदान गर्दै जाने उक्त संस्थाको योजना छ । उक्त संस्थाले केही वर्षदेखि पाँचखालमा आइपिएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता कृषक उपयोगी तालिम दिँदै आएको छ भने तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी कृषकलाई प्राङ्गारिक कृषि उत्पादनतर्फ लैजान निरन्तर प्रयासरत छ ।

पाँचखाल नपा–७ का शिवराज श्रेष्ठ तरकारीलगायत अन्य बालीमा रासायनिक विषादीको विकल्पमा आफैँ जैविक विषादी बनाएर बालीमा हाल्दै आएका छन् । “जैविक विषादी र मल बनाउन घरमा थेग्न सक्नेसम्म गाईवस्तु थप्ने गरेको छु, गाईवस्तुबाट जैविकताका लागि मलमूत्र महत्वपूर्ण हुन्छ”, उनले भने । उनले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि अग्र्यानिक तरकारी ‘सुरक्षित उत्पादन’ उत्पादन गर्दै आएका हुन् ।

पाँचखाल नगरपालिका–६ का किसान सीताराम दुलाल र केदार ढुङ्गानाको पनि बालीमा जैविक विषादी प्रयोग गर्ने तौरतरिका एउटै छ । “स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट जैविक विषादी तयार गरेर बालीमा प्रयोग गर्दा स्वस्थकर र उत्पादन लागत कम हुनेगर्दै आएको छ”, ढुङ्गानाले भने । रासस



प्रतिक्रिया दिनुहोस्