काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटमा बहराइनलाई हराउँदै ओमान विश्वकपमा छनोट भएको छ ।
कीर्तिपुर मैदानमा बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा छनोट भएको हो ।
बहराइनले दिएको १०७ रनको चुनौती केबल १४ ओभरमा बिना कुनै क्षति पूरा गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १०६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओमानले बिना विकेट ३५ बल बाँकी रहँदै सहज जित निकाल्यो । ओमानका लागि कश्यप प्रजापतीले अविजित ५७ रन बनाए । भने प्रतिक अथाभाले ४८ रनमा अविजित रहे ।
ओमानसँगै एसियाबाट नेपाल पनि विश्वकपमा छनोट भएको छ । आजै भएको अर्को खेलमा यूएईमाथि ८ विकेटको शानदार जित निकाल्दै नेपालले पनि विश्वकपमा आफ्नो सिट सुरक्षीत गरेको छ । नेपाल र ओमानले आइतबार त्रिवि क्रिकेट मैदानमा छनोट खेलको उपाधिका लागि खेल्नेछन् ।
नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् । २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।
टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।
आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।