Logo

नेपाललाई विश्वकपमा स्थान पक्का गराएका आशिफ बने ‘प्लेयर अफ द म्याच’ अन्य कसले के पाए ?



काठमाडौं,१७ कार्तिक । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा निर्णायक प्रदर्शन गरेका ओपनर आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । उनले सम्हालिएको ब्याटिङ गर्दै ५१ बलमा ६४ रन बनाएका थिए । जसमा ६ चौका र २ छक्का हिर्काएका थिए ।

म्याचपछि प्रदान गरिएका सबै पुरस्कारहरु नेपाली टिमले कब्जा गर्‍यो । बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र बेस्ट क्याचको अवार्ड कुशल भुर्तेललाई दिइयो । यस्तै लामो हिटको अवार्ड कप्तान रोहित पौडेलले प्राप्त गरे भने फास्टेस्ट रन स्कोररको अवार्ड पनि पौडेललाई नै मिल्यो ।

माइलस्टोन अफ द डेको २५ हजार रुपैयाँको पुरस्कार फिल्म ‘दिमाग खराब’को तर्फबाट सोमपाल कामीलाई प्रदान गरियो । उनले आफ्नो करिअरको ५० औं विकेट पूरा गरेका थिए ।

नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् । २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।

टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्