Logo

खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने- सरकार सधैं साथमा छ



काठमाडौं,१७ कार्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको थियो ।

नेपालले यूएईलाई हराएपछि सामाजिक सञ्जालमार्फत प्रचण्डले नेपाली टिमलाई बधाई दिएका हुन् । उनले बधाई दिँदै सरकार सदैव खेलाडीको साथमा रहेको बताएका छन् ।

उनले भनेका छन् ‘टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु’।

आज भएको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

मूलपानी मैदानमा १३५ रनको लक्ष्य पाएको नेपालले १८औं ओभरको पहिलो बलमा नै लक्ष्य पूरा गरेको थियो । प्रतियोगिताको उपाधिका लागि अब ओमान र नेपालबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot